
इटहरी- सोमबार बिहान करिब ७ बजेतिर कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बाघ बस्तीमा पसेको सूचना आयो। मधेश प्रदेशको सप्तरीस्थित सप्तरी डिभिजन वन क्षेत्र नजिकमा पर्ने फत्तेपुरको बस्तीमा बाघले आक्रमण गरेको सूचना पाएलगत्तै आरक्ष क्षेत्रबाट नेपाली सेनासहित प्राविधिक टोली र वन कार्यालयका कर्मचारी त्यसतर्फ लागे।
आरक्ष कार्यालयको टोली रक्तमाला टोल र खोरिया टोलमा पुग्दा भीडले घेरेको थियो। सयौँको मान्छेले घेरेपछि गोठभित्र लुकेको बाघ हालसम्म नियन्त्रणमा ल्याउन सकिएको छैन। मानिसको भीडका कारण बाघ नियन्त्रणमा लिन कठिन भइरहेको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए। डार्ट प्रविधिबाट बाघ नियन्त्रणमा लिने तयारी गरिए पनि मानिसको भीडका कारण प्रभावित भइरहेको छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट घटनास्थलमा पुगेका गौतमका अनुसार बाघ जंगलबाटै आएकाले फेरि फर्केर जाने वातावरण नहुँदा गोठभित्र लुकेर बसेको छ। ‘नयाँ जनावर देखेपछि सबैलाई हेरौँ–हेरौँ हुन्छ। अत्यधिक भीडका कारण डार्ट हानेर नियन्त्रणमा लिनसमेत समस्या भयो,’ घटनास्थलमै रहेका गौतमले फोनसम्पर्कमा भने, ‘भीडमा काम गर्ने अवस्था भएन। बाघलाई जंगल नै फर्काउने वातावरण बनाउन भीड हुनु हुँदैन। यहाँ त मानिसको चाप अत्यधिक छ।’
गौतमका अनुसार फत्तेपुरको एक घरभित्रको गोठमा अहिले बाघ लुकेर बसेको छ। बाघ लुकेको घरभन्दा सप्तरी डिभिजन वन क्षेत्रनजिकै हो। बाघ रौतहटतिरबाट आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको गौतम बताउँछन्। बाघ भेटिएको स्थान भने कोशी टप्पु आरक्ष क्षेत्रमा पर्दैन। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र कोशी प्रदेशको सुनसरी र उदयपुर, मधेश प्रदेशको सप्तरीमा एक सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। गौतमले उक्त बाघ रौतहटतिरबाट आएको हुनसक्ने बताए।
भाले वा पोथी कुन बाघ हो यकिन छुट्याउन नसकिए पनि पाटे बाघ रहेको उनले सुनाए । उक्त बाघ अन्दाजी आठ वर्षजतिको रहेको उनको भनाइ छ। ‘अन्दाजी आठ वर्षजतिको पाटे बाघ हो, भाले वा पोथी के हो भन्नेबारे भने छुट्याउन सकिएको छैन,’ गौतमले भने, ‘मानिसको डरले लुकेर गोठभित्रै बसिरहेका कारण डार्ट हानेर नियन्त्रणमा लिन पनि सकिएन।’
प्राविधिक टोली भने घटनास्थलमै छ। आठ घण्टासम्म सो क्षेत्रमै बाघ रहेपछि स्थानीयवासी बाघको आक्रमणमा पर्नसक्ने भयमा छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बाघले आक्रमणको प्रयास गर्दा तीनजना घाइते भएका छन्। आक्रमणमा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाईँ घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
बस्तीमा बाघको आक्रमणबाट तीनजना घाइते, फत्तेपुर बजार तनावग्रस्त