यस्तो छ ईसीडी शिक्षकलाई दिइने ‘बुटक्याम्प’ तालिम संहिता

हिमाल प्रेस १९ फागुन २०८१ ६:५४
4.6k
SHARES
यस्तो छ ईसीडी शिक्षकलाई दिइने ‘बुटक्याम्प’ तालिम संहिता

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को क्षमता विकासका लागि कोटा निर्धारण गरेर ‘बुटक्याम्प’ तालिम सञ्चालन गर्दैछ।

केन्द्रले तालिम सञ्चालन गर्न प्रदेश तालिम केन्द्र सुनसरी, बारा, भैरहवा, धुलिखेल, तनहुँ, सुर्खेत र डोटीलाई पत्राचार गरिसकेको छ। साथै केन्द्रले ‘बुटक्याम्प’ कार्यक्रम संहिता, २०८१ पनि जारी गरेको छ।

९ शीर्षमा संहिताबारे स्पष्ट पारिएको छ। जसमा परिचय, तालिमको उद्देश्य, तालिमका विषयवस्तु,सामग्रीसम्बन्धी व्यवस्था, प्रशिक्षकसम्बन्धी व्यवस्था, सहभागी छनोटसम्बन्धी व्यवस्था,  बुटक्याम्पको सञ्चालन, विभिन्न निकायको भूमिका र अन्य व्यवस्था छन्।

१. परिचय
बालविकास शिक्षकलाई कक्षा व्यवस्थापन, सिकाइ सामग्रीको पहिचान, सङ्कलन, निर्माण र प्रयोग, विकासात्मक तथा सिकाइ क्रियाकलाप सञ्चालनका लागि आवश्यक ज्ञान र सिप प्रदान गरी प्रारम्भिक बालविकास तथा शिक्षाका बालबालिकाको सर्बाङ्गीण विकास सुनिश्चित गर्न बालविकास शिक्षकलाई स्वयं उत्प्रेरित हुने गरी क्षमता विकासका लागि सघन तालिम प्रदान गर्न र चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तव्यको प्रकरण नं. १५९ मा व्यवस्था भए बमोजिम बालविकास शिक्षकका लागि सञ्चालन हुने बुटक्याम्प सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन बाञ्छनीय भएकोले यो सञ्चालन संहिता, २०८१ निर्माण गरिएको छ ।

२. तालिमको उद्देश्य
स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रही प्रारम्भिक बालविकास तथा शिक्षाको सिकाइ प्रक्रियालाई गुणस्तरीय बनाउन बालविकास शिक्षकको क्षमता विकास गर्नको लागि सञ्चालन गरिने बुटक्याम्पलाई व्यवस्थित र प्रभावकारी बनाउनु यस सञ्चालन संहिताको प्रमुख उद्देश्य रहेको छ।

३. तालिमका विषयवस्तु
बुटक्याम्प तालिमका लागि प्रारम्भिक बालविकास शिक्षाको तालिम पाठ्यक्रममा निर्धारित विषयवस्तुका अतिरिक्त योग, व्यायाम, ध्यान, सरसफाइ, नैतिक मूल्य र आहारविहार जस्ता विषयवस्तु समावेश हुनेछन् । शिक्षक पेसागत विकास तालिम पाठ्यक्रमबमोजिम दैनिक ४.५ घण्टाका अतिरिक्त बिहान र बेलुका गरी जम्मा ४ घण्टा अन्य क्रियाकलाप सञ्चालन गरिने छ । तालिम केन्द्रले दैनिक ८.५ घण्टाको कार्यतालिका तयार पारी कार्यान्वयन गर्नुपर्नेछ । तालिमका विषयवस्तुसम्बन्धी अन्य व्यवस्था सम्बन्धित अन्य निकायको समन्वयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निर्धारण भए बमोजिम हुनेछ।

४. सामग्रीसम्बन्धी व्यवस्था
बुटक्याम्प सञ्चालनका लागि आवश्यक पर्ने तालिम सामग्रीको रूपमा शिक्षक पेसागत विकास तालिमको तालिम प्याकेज टिपिडी पहिलो वा दोस्रो मोड्युललाई प्रयोग गरी दस दिनको तालिम केन्द्रमा आधारित आवासीय तालिम सञ्चालन गरिनेछ । यसका अतिरिक्त विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू तयार पार्ने जिम्मेवारी सम्बन्धित प्रशिक्षकको हुनेछ।

५. प्रशिक्षकसम्बन्धी व्यवस्था
बुटक्याम्प तालिममा प्रारम्भिक बालविकास शिक्षाको तालिम पाठ्यक्रममा आधारित प्रशिक्षक प्रशिक्षण लिएका विज्ञहरू र प्रारम्भिक बालविकास शिक्षाको तालिम पाठ्यक्रमका विषयवस्तु बाहेकका अन्य विषयवस्तुका हकमा सम्बन्धित विष विज्ञमध्येबाट तालिम केन्द्रले छनोट गरेका विज्ञहरूले प्रशिक्षकका रूपमा कार्य गर्न सक्नेछन्।

६. सहभागी छनोटसम्बन्धी व्यवस्था
बुटक्याम्पमा सहभागी हुनेको सूची सम्बन्धित स्थानीय तहबाट तयार गर्दा बुटक्याम्पमा बसी पूरा अवधि तालिम लिन इच्छुक र प्रतिबद्ध र उपलब्ध भएसम्म पहिलो चरण वा कुनै एक चरण प्रमाणीकरण तालिम लिएका शिक्षकमध्येबाट सम्बन्धित इकाइसँगको समन्वयमा छनोट गर्नुपर्ने छ। सहभागीको सङ्ख्या नपुगेमा कुनै पनि चरणको तालिम नलिएका बालविकास शिक्षकहरू समेत छनोट गर्न सकिने छ।

७. बुटक्याम्पको सञ्चालन
बुटक्याम्पका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशगत कोटा निर्धारण गरी तालिम केन्द्रलाई अख्तियारी प्रदान गर्नेछ। त्यस्तो अख्तियारी प्रदान गर्दा पहिलो चरणमा परीक्षणका रूपमा सञ्चालन गर्ने गरी सीमित कोटाका लागि मात्र अख्तियारी प्रदान गर्न सकिने छ। एउटा समूहको बुटक्याम्पमा बढीमा २५ जनासम्म समावेश गर्न सकिनेछ। शिक्षकको पेसागत विकासको तालिममा यस अघि सहभागी नभएका वालविकास शिक्षक र पहिलो वा दोस्रो चरणको पेसागत तालिम लिइसकेका वालविकास शिक्षकको अलग अलग बुटक्याम्प सञ्चालन गरिनेछ।

८. विभिन्न निकायको भूमिका
बुटक्याम्प सञ्चालनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वीकृत बजेटको परिधिभित्र रही सम्बन्धित प्रदेश तालिम केन्द्रलाई कोटा तथा अख्तियारी प्रदान गर्न मन्त्रालयसँग समन्वय गर्नेछ। यसका अलावा बुटक्याम्पको कार्यान्वयनका लागि प्रदेश तह तथा जिल्लास्तरका अन्य निकाय तथा शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय र सहजीकरण गर्ने कार्य समेत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ। केन्द्रले कार्यक्रम कार्यान्वयनका लागि इच्छुक गैर सरकारी संस्था तथा निकायसँग समझदारी गरी कार्यान्वयनमा सहजीकरण समेत गर्न सक्नेछ।

९. अन्य व्यवस्था
प्रदेश तालिम केन्द्रहरूले तालिम सञ्चालनका क्रममा प्रति सहभागी अख्तियारी प्राप्त गरेको रकमको परिधिभित्र रही स्वीकृत नर्म्सका आधारमा खर्च गर्न सक्नेछन्। यो नयाँ कार्यक्रम भएकाले प्रारम्भमा केही समूहलाई परीक्षणका रुपमा सञ्चालन गरी त्यसको नतिजा अध्ययन र औचित्यका आधारमा क्रमशः बाँकी कार्यक्रम सञ्चालन निरन्तर गर्न वाञ्छनीय हुनेछ।

प्रकाशित: १९ फागुन २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast