पुराना दलसँग सहकार्य गर्दा सरेको रोग निको पार्न मधेश झर्‍यौँ : प्रचण्ड

हिमाल प्रेस १८ फागुन २०८१ १७:५०
8
SHARES
पुराना दलसँग सहकार्य गर्दा सरेको रोग निको पार्न मधेश झर्‍यौँ : प्रचण्ड धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर सौजन्य : दाहालको सचिवालय

धनुषा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न मधेशका जनताको बीचमा आएको बताएका छन्। जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई आइतबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन् भन्ने निष्कर्षसहित आफूहरू उपचार खोज्न जनताको बीचमा आएको प्रचण्डले बताए।

माओवादीप्रति विश्वास गरेका लाखौँ जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख उनले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको जानकारी दियो। हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको बताए। त्यहीअनुरुप जनताको घरमा बस्ने, उनीहरूले जे खान्छन्, त्यही खाने, जस्तोमा बस्छन्, त्यही बस्ने हरेको अध्यक्ष प्रचण्डले स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग गर्ने बताए। लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए।

मधेशको मुक्तिबिना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहूति दिने एक हजार तीन सय मधेशका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १८ फागुन २०८१ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast