
काठमाडौँ- अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीबीच भएको चर्काचर्कीपछि युक्रेनको समर्थनमा अमेरिकामा प्रदर्शन भएको छ।
दुवै नेताको चर्काचर्कीपछि अमेरिकाको न्युयोर्क, लसएन्जल्स र बौस्टनमा युक्रेनको समर्थनमा प्रदर्शन भएको हो।
यसका साथै वरमोन्टस्थित वैट्सफिल्डमा पनि प्रदर्शनकारीहरूले हातमा युक्रेन समर्थक नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन्। यहाँ उपराष्ट्रपति जेडी वेन्स आफ्नो परिवारसँग बिदा मनाउन पुगेका थिए।
अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार प्रदर्शनपछि उपराष्ट्रपति वेन्ससहित उनको परिवारलाई अज्ञात स्थानमा पठाइएको छ।
ओभल अफिसमा शुक्रबार उपराष्ट्रपति वेन्सले सीमा नाघको प्रदर्शनकारीहरूले टिप्पणी गरेका छन्।
उपराष्ट्रपति वेन्सको पारिवारिक यात्राअघि वरमोन्टका गर्वनर फिल स्कटले वेन्सको परिवारसँग ‘सम्मानका साथ प्रस्तुत’ हुन अपिल गरेका थिए।
अमेरिकी राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति वेन्सले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा तीनै जनाबीच चर्काचर्की भएको थियो। त्यसपछि राष्ट्रपति जेलेन्स्की वार्ता छोडेर व्हाइट हाउसबाट बाहिरिएका थिए।