
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयक संसद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरू संसद्मा पेस गर्ने तयारी भएको बताएका हुन्।
उक्त विधेयकहरू संसद्को सम्पत्ति बनिसकेको बताउँदै कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्मा पेस गर्नेगरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिए।
मन्त्री लेखकले सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको बताए। उनले भने, ‘सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृहमन्त्रालयले गम्भीर र संवेदशनशील ढंगबाट काम गरिरहेको छ।’
उनले आफूले गृहमन्त्रीका रूपमा पदबहाली गर्ने समयमा मन्त्रालयका काम इमान्दारिता र निष्ठापूर्वक गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री भइसकेपछि धेरै नीतिगत र कानुनी सुधारका कामहरू भएको जानकारी गराए।
‘यहाँहरूको सल्लाह, सुझाव र चासो मेरो कार्यसम्पादनका लागि मार्गदर्शक बनेका छन्, यहाँहरूबाट शान्तिसुरक्षा, सेवाप्रवाह, विपद् व्यवस्थापनलगायत विषयमा सुधारका लागि व्यक्त गर्नुभएका भावना र मैले हाल गरिरहेको कार्यसम्पदाको भावनाको गति समान छ’, मन्त्री लेखकले भने।