
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको भविष्यलाई उज्ज्वल बनाउनका लागि युवालाई देश नछाड्न आग्रह गरेका छन्।
स्कील सेवा तपाईंको घरको डाक्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘हामीले भर्खरै लोकतन्त्र ल्याएका छौं र जनतालाई अधिकारसम्पन्न बनाएका छौं। अब हामी आर्थिक विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गरिरहेका छौं।’
डा.भट्टराईले नेपालको वर्तमान अवस्थालाई सकारात्मक रूपमा मूल्यांकन गर्दै युवालाई नेपालमा नै बस्न र देश निर्माणमा सहभागी हुन आग्रह गरे। उनले भने, ‘तपाईंहरू यदि देश छोडेर जानुभयो भने नेपाल कसले बनाउँछ? तपाईंहरूको पुस्ताले नयाँ निर्माणको काम गर्नुपर्नेछ।’
उनले बुद्धको जन्मभूमि नेपाललाई ज्ञानको केन्द्र बनाउन सकिने बताए। उनले भने, ‘आजको विज्ञान र प्रविधिको युगमा, एआईको युगमा नेपाल ज्ञानको केन्द्र बन्न सक्दैन? बुद्धले यहाँबाट ज्ञानको प्रसार गरेका थिए, त्यसैले हामी पनि नयाँ ज्ञानको क्षेत्र बनाउन सक्छौं।’
डा.भट्टराईले नेपालको भौगोलिक र सांस्कृतिक विविधता नेपालको विकास माेडल बन्नसक्ने बताए। उनले भने,‘नेपालको हिमाल, पहाड र तराईमधेशको विविधता, जलवायु परिवर्तन र विश्वको वातावरण असन्तुलनलाई मध्यनजर गर्दै नेपालले हरित विकासको मोडेल बन्नसक्छ।’
उनले युवाहरूलाई प्रेरित गर्दै थप भने,‘तपाईंहरूको पुस्ताले नोबेल शान्ति पुरस्कार र अन्य प्रतिष्ठित पुरस्कार जित्ने सम्भावना छ। त्यसैले हिम्मत नहारिकन नेपाल बन्छ र तपाईंहरूले त्यो बनाउनेमा योगदान पुर्याउनुहोस्।’
यससँगै डा.भट्टराईले युवालाई नेपालको प्रगति र विकासका लागि नयाँ सोच र समर्पणका साथ काम गर्न प्रेरित गरेका छन्।