
काठमाडौँ- रूस–युक्रेनको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्काचर्कीपछि युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीले बेलायतको साथ पाएका छन्।
उनले बेलायतका प्रधानमन्त्री किएर स्टार्मरसँग भेटवार्ता गरेका छन्। इंग्ल्यान्डको १० डाउनिंग स्ट्रीटमा भएको भेटका क्रममा किएरले बेलायतको पूर्ण समर्थन युक्रेनसँग रहेको बताए।
जेलेन्स्कीले राम्रो साथी पाएकोमा स्टार्मरसँग खुसी व्यक्त गरे। साथै युद्धमा साथ दिएकोमा उनले बेलायतलाई धन्यवाद दिए।
जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य आपूर्तिका लागि २.२६ बिलियन पाउन्ड ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। यो ऋण रूसी सम्पत्तिबाट प्राप्त नाफालाई प्रयोग गरेर चुक्ता गरिने दुवै देशबीच सम्झौता भएको छ। यद्यपि यी सम्पत्तिहरू हाल कब्जामा रहेको बताइएको छ।
यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेटवार्ता गरेका थिए। त्यहाँ दुवै जनाबीच चर्काचर्की भएको थियो।
बेलायतका प्रधानमन्त्री स्टार्मर आइतबार रूस–युक्रेन यद्ध अन्त्य गर्ने प्रयासका साथै युरोपीय सुरक्षासम्बन्धी चर्चाका लागि युरोपीय नेताहरूले आयोजना गर्नेे शिखर सम्मेलनमा भाग लिने छन्।
त्यस्तै जेलेन्स्की बेलायतका राजा चाल्र्स तृतीयसँग भेटवार्ता गर्ने बताइएको छ।