
बाल नर्सिंह कुँवर नेपालको दरबारमा काजी पद पाएका व्यक्ति थिए। उनका आठ छोरामध्येका माइला वीर नर्सिंह कुँवर (पछि जंगबहादुर राणा) राणा शासनका सूत्रपातकर्ता हुन्। काजी बाल नर्सिंहकै काइँला छोरा थिए, बद्री नर्सिंह। बद्रीका साहिँला छोरा भैरव नर्सिंहका १८ भाइ छोरा थिए। १८ मध्येका पाँचौँ छोरा थिए कृष्ण नर्सिंह राणा। उनै कृष्णका कान्छा छोरा हुन्, परीक्षित नर्सिंह राणा।
बाल नर्सिंह कुँवरका छोराहरूले कुँवर हटाएर राणा लेख्न थाले। काजी बाल नर्सिंहको पाँचौँ पुस्ताका परीक्षित नर्सिंह कालान्तरमा नेपालको प्रशासनिक क्षेत्रमा सम्मानित व्यक्तित्वका रूपमा स्थापित भए। विक्रम संवत् १९७३ जेठमा काठमाडौँको ठमेलमा जन्मिएका परीक्षितको निधन २०४७ वैशाखमा भएको थियो। नेपालका मेहनती, कुशल, दूरदर्शी, सोझा तथा स्वाभिमानी, निर्भीक र चरित्रवान् प्रशासकको नाम लिँदा उनी छुट्दैनन्।
परीक्षित नर्सिंहको निधन भएको ३४ वर्षपछि ‘इमानदारीको मार्गमा अविश्रान्त यात्री परीक्षित नर्सिंह राणा’ स्मृतिग्रन्थ प्रकाशित भएको छ। ग्रन्थको सहलेखकमा विमल भौकाजी र कपिल लोहनी छन् भने सम्पादन प्रा. करनबहादुर शाहले गरेका हुन्। प्रकाशनको चाँजोपाँचो परीक्षितका पुत्र प्रसन्न नर्सिंह राणाले गरेका छन्।
स्वर्गीय परीक्षित नर्सिंहसँग काम गरेका, उनका निकट तथा परिवारका सदस्यहरूसहित ४१ व्यक्तिबाट उपलब्ध सूचना र जानकारीमा आधारित पुस्तक रोचक छ। पुस्तकमा पूर्वप्रकाशित ग्रन्थबाट साभार केही सामग्री पनि समावेश छन्। केही ऐतिहासिक सूचना तथा जानकारीले पुस्तकको ओज बढाएको छ।
परीक्षित नर्सिंहले अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थिए। राणा खानदानमा जन्मिएका परीक्षित जहाँनियाँ शासनको विरोधी थिए। त्यसैले उनको संगत धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, गंगालाल, शुक्रराज शास्त्रीसँग थियो। राणा शासनको विरोध गरेकै कारण उनलाई केही समय गोरखामा लगेर नजरबन्द गरिएको थियो।
२००३ सालमा सैनिक सेवामा प्रवेश गरेका परीक्षित नर्सिंह २००८ सालमा निजामती सेवाको अधिकृततर्फ मोडिए। उनले निजामती सेवामै लामो समयसम्म काम गरे। त्यहीँ इमान तथा निष्ठा आर्जन गरे। २०१९ सालमा कर्मचारी सञ्चय कोषको प्रथम प्रशासकका रूपमा प्रवेश गरेका उनले कोषको जगमात्रै बसालेनन्, त्यसको भौतिक एवम् प्रशासनिक सुधारका लागि दूरदृष्टि लगाएर काम गरे।
इन्धन संस्थान र टिम्बर कर्पोरेसनको अध्यक्ष, वन मन्त्रालयको सचिव र लोकसेवा आयोगको सचिव भएर परीक्षित नर्सिंहले प्रशासनिक कौशल प्रदर्शन गरेका थिए। सरकारी सेवाबाट स्वेच्छिक अवकाश लिएका परीक्षितलाई २०३६ सालको जनमतसंग्रहका बेला तत्कालीन राजा वीरेन्द्रले राष्ट्रिय चुनाव आयोगको सदस्य मनोनीत गरे। त्यो जिम्मेवारी पूरा गरेपछि उनले बाँचुन्जेल समाजसेवामा सक्रियता देखाए।
परीक्षित नर्सिंह मेहनती, कुशल, दूरदर्शी, सोझा तथा स्वाभिमानी, संघर्षशील र विशुद्ध चरित्रवान् प्रशासकका रूपमा अझैसम्म चिनिन्छन्। (पृष्ठ ३१) ग्रन्थका विषयवस्तु उनका यिनै योगदानमा आधारित छन्।
पाँच खण्डमा विभाजित ग्रन्थको खण्ड १ मा परीक्षित नर्सिंह राणाको पुर्ख्यौली विवरण उल्लेख छ। वंशवृक्षअन्तर्गत उनका पुर्खा बाल नर्सिंहदेखि नातिनी प्राथभी र प्राथिकासम्मको नामवाली समावेश छ। उनको वंशवृक्षले पाठकलाई राणाशासनका विभिन्न घटनाक्रमको जानकारी दिन्छ।
खण्ड २ अन्तर्गत ‘परीक्षित नर्सिंह राणाको सङ्क्षिप्त जीवनी’ शीर्षकमा उनको बाल्यावस्था, ९० सालको भूकम्पका साक्षी, विवाह र परिवार, उच्च शिक्षा, राजनीतिक चेतनाका सन्दर्भलाई विवरणात्मक रूपमा प्रस्तुत गरिएको छ।
सुरुवाती केही दिन सैनिक सेवामा संलग्न उनले ‘करेन्सी अफिसर’बाट निजामती सेवामा प्रवेश गरेका थिए। कर्मचारी सञ्चयकोषको प्रथम प्रशासक, इन्धन संस्थान र टिम्बर कर्पोरेसनको अध्यक्ष, वन सचिव, लोकसेवा आयोगको सचिव भएर उनले निजामती सेवामा काम गरेका थिए। तीमध्ये सञ्चय कोषको प्रथम प्रशासक हुँदा उनले गरेका कामको धेरैले प्रशंसा गरेका छन्।
खण्ड ३ मा परीक्षित नर्सिंह राणाका बारेमा आफन्त, इष्टमित्रलगायत विभिन्न २९ जना व्यक्तिहरूको मन्तव्य छ। अर्थविद् एवम् कूटनीतिज्ञ गोविन्दप्रसाद लोहनीले परीक्षितलाई अति साधारण, मिलनसार, मेहनती, इमानदार र कडा मिजासका व्यक्तिका रूपमा चिनाएका छन्। परीक्षितले सञ्चय कोषको रकमको सदुपयोग गर्न वाणिज्य बैंक स्थापना गर्ने सोच राखे पनि प्रशासनको उच्च तहमा बसेका व्यक्तिले त्यसो गर्न नदिएको लोहनीले उल्लेख गरेका छन्।
यसैगरी वन मन्त्रालयको सचिव हुँदा परीक्षितलाई वन फँडानी गरेर धनी हुन पल्केका उच्च प्रशासक र नेताहरूले राम्ररी काम गर्न नदिएर त्यहाँबाट सरुवा नै गराएका थिए। पञ्चायतको त्यो समयमा पनि शासकहरूले इमानदार प्रशासकलाई दुःख दिँदा रहेछन् भन्ने उदाहरण हो यो।
लोकसेवा आयोगको सचिव रहँदा परीक्षितले सो संस्थालाई व्यावहारिक प्रशासकीय संस्था बनाउन रातदिन काम गरेको हामीले देखेका छौँ भन्दै लोहनीले परीक्षितको कार्यशैलीको प्रशंसा गरेका छन्। (पृष्ठ ४४)
भूगोलविद् प्रा.डा. रत्नशमशेर राणाको सम्झनामा परीक्षित नर्सिंह आफ्नो भन्दा समुदायको हितमा काम गर्ने स्वभावका व्यक्ति थिए। पूरै बर्दियालाई जापानी खाकाको ग्रामीण कृषि तथा साना उद्यमको नमुनास्थल बनाउन सकिने उनको सपना रहेको रत्नशमशेरले उल्लेख गरेका छन्।
अधिकारकर्मी एवम् वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दासका अनुसार परीक्षित नर्सिंह धेरै बोल्दैनथे। मुस्कुराएर आफ्नो भाव पेस गर्थे। सरल प्रकृति एवम् मृदुभाषी उनी आफ्नो काम र इमानका पक्का थिए भने डा. दासको ठहर छ।
परीक्षितबारे अग्रज पत्रकार भैरव रिसालको बुझाइ अलिक भिन्न छ। उनले लेखेका छन्- राजा महेन्द्रले आफ्ना भाइहरू र अन्य केही नजिकका धनी नातेदारहरूलाई होटेलमा लगानी गर्न प्रोत्साहित गरेका रहेछन्। फलस्वरूप उनका भाइहरूले काठमाडौँमा सोल्टी र अन्नपूर्णजस्ता ठूला होटेल खोलेका थिए। तर पछि उनीहरूले अन्य व्यवसायमा पनि हात हाल्न सुरु गरेपछि राजपरिवारले व्यापारमा सक्रियतापूर्वक संलग्न भएका कुराले त्यति राम्रो सन्देश पुर्याएको रहेनछ। राजा महेन्द्रले परीक्षित नर्सिंह राणाकै संयोजकत्वमा एक छानबिन तथा सुझाव समिति गठन गरेछन्। परीक्षित राणाले राजाका पक्षमा प्रतिवेदन बनाएनछन्। उनले त राजालाई राजपरिवारले व्यवसायमा हात हाल्न हुँदैन र यति उद्योगी व्यवसायी बन्ने इच्छा छ भने राजपरिवारको हैसियतबाट बाहिरिएर मात्र त्यस्तो इलम गर्नुपर्ने सुझाव दिएछन्। उनको सल्लाहमुताबिक नै राजाले राजपरिवारले अब उप्रान्त नयाँ उद्यममा लगानी नगर्न हुकुम दिएछन्।
सहिद गंगालालका कान्छा भाइ विजयलाल श्रेष्ठले परीक्षित ज्यादै इमानदार, निडर र कडा मिजासका प्रशासक भएकाले उनलाई रुचाउने मानिस नेपालको उच्च नेतृत्वमा निकै कम रहेको उल्लेख गरेका छन्। त्यस्तै पूर्वनायब महालेखापरीक्षक रामबाबु नेपालले चाकडी चाप्लुसीका सन्दर्भमा कर्मचारी जोडिए भने उनी त्यस्ता क्रियाकलापको विरुद्ध लाग्थे भनेर उनको इमानदारीको बयान गरेका छन्।
साहित्यकार जगतमर्दन थापाले परीक्षितको भनाइ उधृत गर्दै लेखेका छन्, ‘मलाई घरमा आएर कसैले चाकडी गरेको मन पर्दैन। कामले मात्र प्रसन्न हुने मानिस हुँ म।’
सञ्चय कोषबाट निवृत्त लोकगायक कुमार बस्नेत र चर्चित हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठका पनि हाकिम रहेछन् परीक्षित। बस्नेतले लेखेका छन्, ‘उहाँ मरिमेटेर आफू काम गर्नुहुन्थ्यो, अरूलाई पनि त्यसरी नै काम गर्न सिकाउनुहुन्थ्यो।’
कलाकार श्रेष्ठ जीवनमा धरै आदर्शका पाठहरू पढिए पनि साँचो अर्थमा आफूले सिकेका आदर्श भने परीक्षित नर्सिंह रहेको उल्लेख गर्छन्। उनले लेखेका छन्, ‘इमानदारको सधैँ कदर गर्ने र बेइमानको संगत गर्दै नगर्ने प्रेरणा मैले उहाँबाट पाएको हुँ। उहाँको मूल ध्येय नै कार्यालयमा बसेर त्यहाँबाट सेवाग्राहीलाई दिइने सेवाबाट विमुख गरिनु हुन्न भन्ने थियो।’
प्रथम गभर्नर हिमालयशमेर जबराका अनुसार ‘परीक्षितिले देखाएको कर्तव्यनिष्ठता र इमानदारीको मूल्यांकन गर्दै आज पनि उहाँलाई नेपाल राष्ट्रको सपूत र गहनाका रूपमा’ लिइन्छ ।
नेपाल सरकारका पूर्वसचिव सुशील जंगबहादुर राणा, नास्टका पूर्व सदस्यसचिव डा. नरेन्द्रबहादुर सिंह, पूर्वप्रशासक रामप्रसाद अधिकारी, मञ्जुलकुमार याक्थुम्बा, सञ्चय कोषकी पूर्व प्रशासकहरु स्वयम् सिंह र राधाकृष्ण पोते, अनन्तलाल दास, माधुरी राणा, सावित्री श्रेष्ठ, पूर्वबैंकर आशा राणा अधिकारी, भेषबहादुर मल्ल, महिला अभियन्ता तूला राणा, पूर्वसचिव अक्रूर नर्सिंह राणा, एनआईडीसीकी पूर्व अध्यक्ष शिवा ढुंगाना, भुवन सिंह, पूर्व महारथी अर्जुन नर्सिंह राणा, विश्वम्भरलाल प्रधान, पूर्व प्रहरीमहानिरीक्षक हेमबहाुदर सिंह, विमला याक्थुम्बालगायतले परीक्षितका बारेमा व्यक्त शब्दश्रद्धाले उनलाई अझ राम्ररी चिनाएका छन्।
खण्ड ४ मा परीक्षित नर्सिंह राणाका बारेमा परिवारजनका विचार अभिव्यक्त छन्। पारिवारिक व्यक्तित्व, माया, ममता, स्नेह, समाजमा लगाएको गुन, आफूहरूले सिकेका राम्रा कुरा, छोराछोरीलाई दिएका व्यावहारिक ज्ञान, सकारात्मक सोचाइ, जिम्मेवारीबोध, अध्ययनमा रुचि आदिलाई परीक्षितकी पत्नीदेखि नाति पुस्तासम्मले स्मरण गरेका छन्।
श्रीमती मन (कोकिला) राणाका अनुसार परीक्षित लवाइखवाइमा फिटिक्कै ध्यान दिँदैनथे। उनले लेखेकी छन्, ‘आफ्नो स्वास्थ्य, समय र परिस्थितिको ख्यालै नगर्ने बानीले आफैँलाई हानि गर्न सक्छ भन्ने कुरा उहाँ मनन गर्नु हुन्नथ्यो। कामलाई नै प्राथमिकता दिनुहुन्थ्यो।’
जेठा ज्वाइँ प्रा. डा. करनबहादुर शाहले जीवनीका विविध सन्दर्भ, आनीबानी, निकटता, स्वभाव आदिबारे लामै विवरण लेखेका छन्। उनको निष्कर्ष छ, ‘उहाँको जीवन अरूका लागि प्रेरणादायी छ।’ जेठी छोरी उषा राणा शाह लेख्छिन्, ‘उहाँले हामीलाई सधैँ भन्ने कुरा के थियो भने, तिमीहरूलाई कुनै केटा मन पर्छ भने मलाई भन्नू, म बिहे गरिदिउँला तर कसैको भोटोको फेटा समातेरचाहिँ नजानू।’
परीक्षितकी माहिली छोरी प्रा.डा. सरोज राणा विष्टले बुवाको अडान लिने चरित्र र क्षमताबारे लेखेकी छन्। काहिँली छोरी दीपा राणा र ठाहिँली छोरी रूपा राणा बस्न्यातले पिताको उपकारी चरित्रको चर्चा गरेका छन्। दीपाले लेखेकी छन्, ‘बुवाको परोपकारी कार्यहरूलाई हामी उहाँको जम्मै सन्तानले निरन्तरता दिएका छौँ।’
ठाहिँला ज्वाइँ धीरु बस्न्यातले परीक्षित नर्सिंहजस्ता निडर, निष्ठावान् कर्मचारीहरूको झझल्को आइरहने उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यदि यस्ता कर्मचारीहरू हुन्थे भने न आज कर्मचारी क्षेत्रलाई नेताहरूले आरोप लगाउने कुनै साहस गर्थे न मन्त्री वा प्रधानमन्त्री न माफियाले बदमासी गर्थे। न भ्रष्टाचारले देशमा जरो गाड्न पाउँथ्यो। सुशासनमा संस्थागत विकास भइसकेको हुन्थ्यो।’
परीक्षितकी छैटौँ छोरी निशा राणा बस्न्यातले बुवाको दयालु स्वभाव स्मरण गरेकी छन्। सातौँ छोरी किरण राणा खड्काले बुवाको नामलै आफ्नो छाती चौडा हुने उल्लेख गरेकी छन्। कान्छी छोरी पुष्पाञ्जलीले ‘तिम्रो सम्झनामा’ शीर्षकमा सुन्दर कविता सिर्जना गरेकी छन्।
पुस्तकको प्रकाशकसमेत रहेका छोरा प्रसन्न नर्सिंह राणाले आफ्नो बुवाको अध्ययनशील चरित्रलाई उजागर गरेका छन्। साथै, बुवामा व्यावहारिक ज्ञान, सहयोगी चरित्र र बहुमुखी प्रतिभा रहेको प्रसंगलाई प्रस्तुत गरेका छन्। नाति डा. उत्कृष्ट शाहले जिजुबुवालाई सम्झँदा गौरव लाग्ने उल्लेख गरेका छन्।
खण्ड ५ मा परीक्षित नर्सिंह राणासँग सम्बन्धित दस्ताबेज तथा तस्बिर समावेश छन्।

पुस्तकका केही पक्ष भने विचारणीय छन्। पुस्तकमा उच्च आदरर्थी भाषाको प्रयोग छ, जुन अचेलको लेखनमा प्रयोग हुँदैन। साथै इतिहासका घटना वा सन्दर्भ आएका ठाउँमा त्यसलाई बल दिन सन्दर्भ सामग्रीको प्रयोग गरिएको भए पुस्तक अझ प्रभावशाली हुने थियो। त्यसैले पुस्तकमा रहेका सबै विवरण तथ्यमा आधारित छन् भन्न सकिँदैन।
परीक्षित नर्सिंह दरबार हाइस्कुलबाट म्याट्रिक उत्तीर्ण हुँदा २५ वर्षका थिए। (पृष्ठ २३) त्यो भनेको १९९८ साल हो। त्यसपछि उनी कलकत्ताको प्रख्यात शिक्षण संस्था शान्ति निकेतनमा पढ्न गए भन्ने उल्लेख छ।
ग्रन्थमा उल्लेख भएअनुसार परीक्षित राणा र नोबेल पुरस्कार विजेता बंगाली भाषाका सुप्रसिद्ध कवि रवीन्द्रनाथ टैगोरको सम्बन्ध निकै नजिकको थियो। सन् १९४१ अर्थात् विक्रम संवत् १९९८ मा निधन भएका टैगोरसँग परीक्षितको कुन स्तरको सम्बन्ध थियो त्यो स्पष्ट छैन। साथै २५ वर्षीय परीक्षित र ८० वर्षीय टैगोरको निकट सम्बन्धबारे ग्रन्थमा थप केही जानकारी छैन। उनी म्याट्रिक उत्तीर्ण हुनुभन्दा पहिल्यै शान्ति निकेतन गएका हुन् कि भन्ने पनि प्रस्ट हुँदैन। यद्यपि पृष्ठ १८० मा रहेको तस्बिर र त्यसको विवरणले सन्देह कम हुन्छ।
अर्को कुरा, १९९७ सालमा राणाविरोधी क्रियाकलापमा मुछिएर गोरखाको नजरबन्दमा परेका राणा कति समयपछि मुक्त भए भन्ने जानकारी पुस्तकमा पाइँदैन। त्यसैले कलकत्तामा पढ्न गएको, राणाविरोधी गतिविधिमा लागेर नजरबन्दमा परेको एकै समय हो कि भन्ने संशय पाठकका मनमा पर्छ। पुस्तकमा समावेश गोविन्दप्रसाद लोहनीको लेखले परीक्षित नर्सिंह राणाशाहीको कारबाही भोगेर उच्चशिक्षाका निम्ति कलकत्ता तथा बम्बई गएको उल्लेख गरेका छन्। (पृष्ठ ४४)
परीक्षितको निधन तत्कालीन शानेवानि टीकापुरका स्थानीय प्रबन्धक मोहनविक्रम राणाको क्वार्टरमा २०४७ साल वैशाख १७ गते भएको थियो। (पृष्ठ ३७) सम्पादक प्रा. करन बहादुर शाह ‘मेरो भनाइ’ मा लेख्छन्, ‘धनबुवाले हामीलाई छाडेको झन्डै ४४ वर्षपछि यो पुस्तक आउनुको मुख्य उद्देश्य एकपटक फेरि सबैले उहाँलाई श्रद्धाञ्जलि अर्पण गरून्।’ कुनै पनि व्यक्ति सर्वगुणसम्पन्न हुँदैनन्। पुस्तकमा परीक्षितका हरेक क्रियाकलापका प्रशंसा गर्दा उनका कमीकमजोरी बाहिर आएका छैनन्। केही यस्ता सन्दर्भले पाठकका मनमा केही सन्देह भए पनि उनको प्रेरणादायी जीवनी बाहिर आएको छ। साढे ३ दशकअघि नै बितिसकेका व्यक्तिका बारेमा सामग्री संकलन गरेर ग्रन्थ तयार पार्न त्यति सजिलो विषयचाहिँ होइन।
भ्रष्टाचार र सुशासन निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण भ्रष्टाचार अवधारणा सूचकांकअनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमा निकै अगाडि छ। ट्रान्सपरेन्सीको २०२३ को प्रतिवेदनअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको १०७ औँ नम्बरमा परेको छ। यस्तो अवस्थामा परीक्षित नर्सिंहजस्तो इमानदार प्रशासकलाई नेपालले झन् बढी सम्झनुपर्ने बेला भएको छ। प्रशासनमा बसेर देशको सेवा गर्छु भन्ने नयाँ पुस्ताका लागि पुस्तक झन् उपयोगी देखिन्छ।
कृतिको विमोचन शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा परीक्षितकी पत्नी कोकिला राणाले गरेकी थिइन्।