
कालो चियाको गुलियो त जिब्रोले अनुभव गर्यो, मन भने तीतो भयो। खल्लो अनुभव गरेँ। कालो चिया घाँटीबाट छिरेर आँतलाई तातो त गरायो, हृदय भने चिसो नै रह्यो। चियाबाट निस्केको बाफसँगै एकाएक आँखाबाट पनि बाफ निस्केको अनुभव भयो र तातो आँसु आँखाभरि छचल्कियो।
छ्या, यो कस्तो एक्लोपन! सबैथोक छ तर म खाली छु। मान्छेको बीचमा पनि शून्य लाग्छ। हाँसो, खुसी त अनुहारसम्म आइपुग्नै नपाई यही कालो चियाको बाफ हराएजस्तै हराउँछ।
आफ्ना दुवै ओठलाई तन्काएर लम्ब्याउन खोज्छु। ओठ तन्किनेबित्तिकै खुसी भइने होइन रहेछ। खुसी त अर्कै चीज रहेछ। दिल हर्षित हुँदा ओठ तन्क्याउनै पर्दैन रहेछ, त्यही खुसीको भावले नै थाहै नपाई तन्काइदिँदो रहेछ।
स्कटल्यान्ड आएको महिनौँ बितिसक्यो, मेरो एक्लोपन भने घटेको छैन। बरु झनै बढिरहेको छ। दिमागमा एक तमासले आफ्ना साथीभाइ, गाउँठाउँ, देश घुमिरहन्छ।
‘ओइ, आइज, चिया खाऔँ’ भनेर बोलाउँदा ‘एकछिन पख् है, म आइहालेँ’ भनेर एकैछिनमा आइहाल्ने साथीहरूले गरेको सबैभन्दा धेरै माया नै यही रहेछ। हिजोआज यस्तै अनुभव गरिरहेको छु।
ती साथीहरूसँग बसेर सुरुप-सुरुप दूध-चियाको चुस्की लिनुको मजा नै अर्कै हुन्थ्यो। रङ कडा भएको त्यो तातो दूध-चियाले जिब्रोलाई स्पर्श गर्दै जब घाँटीबाट छिर्थ्यो, दिनभरिको सबै थकान हटेको महसुस हुन्थ्यो।
आज मलाई साथीहरूको धेरै याद आयो। उनीहरूसँगै याद आयो तातो दूध-चियाको।
यहाँ आउनुअघि चिया नखाई कुनै दिन बिताइएन होला। चिया नखाएको दिन त जीवनमै केही छुटेको महसुस हुन्थ्यो। जस्तोसुकै व्यस्त समयमा पनि अलिकति फुर्सद निकालेरै भए पनि चिया त खाइन्थ्यो। ड्युटी सुरु हुनुअगाडि, ड्युटी सकिएपछि र कहिलेकाहीँ त ड्युटी आवरमै पनि चिया खाइकै हुन्थ्यो। एउटा आदत बनिसकेको थियो चिया खाने।
जस्तोसुकै बाध्यता, जस्तोसुकै व्यस्तता वा परिस्थिति भए पनि चियाका निम्तिचाहिँ हामी केही समय छुट्याउँथ्यौ नै। कहिले मैले साथीहरू बोलाउँथेँ र कहिले उनीहरूले मलाई। चियासँगसँगै हामी आपसमा धेरै कुराहरू साट्थ्यौँ। समाज र देशको परिस्थितिबारे कुराकानी गर्थ्यौँ। भविष्यबारे कुरा गर्थ्यौँ। वर्तमानका मनमा रहेका गाँठाहरू फुकाउँथ्यौँ। खुसी साटासाट गर्थ्यौँ। आफ्नो दुःख बिसाउँथ्यौँ।
यहाँ आइसकेपछि साथीहरू सँगै नभए पनि दूधचियाचाहिँ खान्छु भनेर धेरै क्याफे चहारेँ। चिया खान पाउँदा मात्रै पनि नेपालमा साथीहरूसँग बस्दाको निरन्तर आइरहने याद अलिकति भए पनि मेटिएला भन्ठानेकी थिएँ। तर यहाँ कालो चिया खानुपर्ने बाध्यता रहेछ। खल्लो खालको चिया। चिया खानै नजानेका जस्ता मान्छेहरू यहाँका। दूध हालेको चिया कुनै पसलमा पनि भेटिनँ। कफीचाहिँ खान पाइँदो रहेछ। त्यही कालो कफीलाई यहाँको भाषामा अमेरिकानो र क्यापाचिनो भनेर मात्रै पाइँदो रहेछ। मिल्क टीचाहिँ पाउनै गाह्रो।
दूधबिनाको चिया पनि के चिया! एक-दुईपटक क्यापाचिनो नै भए पनि खान्छु भनेर खाएँ। अहँ, पटक्कै धीत मरेन। जिब्रो चिलाएजस्तो मात्रै भयो। कहाँ दिनभरि पाकिरहने भाँडोमा रङ कडा हुने गरेर राम्रोसँग पकाएको चिया, कहाँ यहाँ नाम मात्रको। मन अलिकति पनि सन्तुष्ट हुन सकेन।
क्याफेबाट आत्मसन्तुष्टि नमिलेपछि घरमै भए पनि पकाएर खान्छु भन्ने सोचेर चिया पकाएँ। दिमागमा तिनै साथीहरू घुमिरहेका थिए, जोसँग बसेर कति खुसी हुँदै चिया खान्थेँ। चिया पाक्यो तर कति बेला भुलेर दुईवटा कपमा हालिसकेछु।
चिया खाने बेलामा पो झस्किएँ, ‘ओहो, म त एक्लै पो छु त यो ठाउँमा, मैले अर्को कपमा किन चिया हालेको होला?’
‘आऊ, बसेर चिया खाऔँ’ भनेर चिया खाने निम्तो दिन पनि कोही मान्छे छैन यहाँ। चिया खानका लागि पनि र खुवाउनका लागि पनि।
एक्लै बसेर त झनै चियाको स्वाद नै मिलेन। खल्लोपनको अनुभव हुँदो रहेछ। यसरी चियाको तलतल जस्ताको तस्तै रह्यो।
आज पुस्तकालयबाट फर्किंदै गर्दा एउटा सानो क्याफे देखेँ। चियाको तलतल लागिरहेको थियो धेरै दिनदेखि। त्यही तलतल अलिकति भए पनि मेटाउँ भनेर भित्र पसेको छु। कालो चिया भए पनि खान्छु भनेर चिया अर्डर गरेँ।
मभन्दा अलिकति पर केही मान्छे बसेका छन्। सबै जना आफ्नै धुनमा। शान्त छन् सबै। कोहीकोही अत्यन्तै मसिनो स्वरमा कुराकानी गरिरहेका छन्।
अस्पतालको लामो सिफ्टपछि कपिल दा, हाकिम र साथीभाइसँग बसेर चिया पिउँदै खुलेको गफ गर्दा अर्कै दुनियाँमा पुगेको अनुभव हुन्थ्यो। कपिल दाले निकै प्रेमपूर्वक मर्मस्पर्शी कुराहरू गर्नुहुन्थ्यो। सुनेर साह्रै आनन्द आउँथ्यो। फ्रेस भएको अनुभव हुन्थ्यो।
यति बेला मेरो साथमा सङ्गीता दिदी हुने हो भने कस्तो रमाइलो हुन्थ्यो ! क्याफेको माहोल नै अर्कै हुन्थ्यो होला। यो पराइघरजस्तो लाग्ने क्याफेभन्दा त हाम्रो चिया बेच्ने झुपडी नै कति स्वतन्त्र छ! कति हँसिलो छ! आफ्नै घरजस्तो लाग्थ्यो। संगीता दिदीको हाँसोको फोहराले चियापसल र वरिपरिको वातावरण नै अर्कै बनाइदिन्थ्यो। उहाँले आफ्नो उपमेयर पदमा रही दिनभर व्यस्त रहेर काम गरेपछि थाकेको अवस्थामा पनि मलाई चिया खान बोलाउनुहुन्थ्यो। उहाँको निम्ता स्वीकार गर्दै राति ९ बजे उहाँकै घरमा चिया खानसमेत पुगेको छु म। चिया खाने बहानामा हामी कति धेरै कुरा गर्थ्यौँ! चिया पसलमा त सायद आफ्नो घरमा भन्दा धेरै हाँस्थ्यौँ। त्यसैले त चिया पसल हाम्रो निम्ति आफ्नो घरजस्तै थियो। हाम्रो हाँसोमा पसलका साहुजी-साहुनीको पनि अनुहार मुस्कुराइरहेको हुन्थ्यो। उहाँहरू खुसी भएर हामीलाई धेरै बेर उमालेर जिब्रोमै स्वाद बस्ने खालको चिया ल्याएर दिनुहुन्थ्यो। कस्तो आनन्द आउँथ्यो !
आज ती चिया पसल र ती गल्लीहरूले मलाई सम्झिन्छन् कि सम्झिँदैनन् होला? साथीभाइले कतिको याद गर्छन् होला? उनीहरूलाई मेरो अनुपस्थिति कतिको खड्किन्छ होला?
यहाँ मान्छेहरू भए पनि सुनसान क्याफेमा एक्लै बसेर चिया खानुमा खल्लोपन मात्रै अनुभव हुँदो रहेछ। त्यसै पनि खल्लो लागिरहेको जीवनमा झनै खल्लोपन थपिदिने रहेछ।
नेपालमा चिया पसलका दिदी-दाइहरूले चिया बनाउँदै गर्दा र हामीले चिया खाँदै गर्दा कहिलेकाहीँ त हामी घण्टौँ बिताइदिन्थ्यौँ। हाँसो, मस्ती, कुराकानी र आवश्यक छलफल गर्दागर्दै समय कटेको पत्तै हुँदैनथ्यो। सानिमाको कटेज, ए वान कटेज र अरू पनि चिया पाइने ठाउँहरूमा बसेर हामीले धेरै समय बिताएका छौँ। अहिले यी सबैलाई सम्झिँदा कस्तो आत्मीय अनुभव भइरहेको छ ! सबैलाई सम्झना छ है मेरो धेरैधेरै।
अहिले क्याफेमा बसिरहँदा शून्यता, मात्र शून्यताको अनुभव भइरहेको छ। मैले यो मेरो भाव कहाँ सेयर गरुँ?
कालो चियाको पहिलो चुस्की लिँदै गर्दा नेपालका ती अविस्मरणीय दिनहरू चलचित्रझैँ आँखावरिपरि घुम्न थाल्छन्। बाहिर चिसो हावा चलिरहेको छ। हावाले क्याफेको झ्यालमा हल्का कम्पन भइरहेको छ। त्यस्तै चिसो र कम्पन मेरो हृदयमा पनि चलिरहेको छ। कालो चियाले त्यो चिसोलाई तातो बनाइरहेको पनि छैन र क्याफेको माहोलले हृदयको कम्पन झनै बढाइरहेको छ।
नेपालमा चिया पसलको ढोका सानो हावामा पनि कम्पन हुन्थ्यो। तर, कति ढुक्क हुन्थ्यो ! कति सुरक्षित महसुस गरिन्थ्यो ! दूध-चियाले पूरै शरीर तताइदिन्थ्यो। चिसो मौसममा पनि हृदय तातो हुन्थ्यो। हृदयको यस्तो कम्पन कहिल्यै महसुस गरेको थिइनँ।
यी सबै कुरा सम्झेर मन कटक्क काट्छ। आफ्नो चित्त बुझाउनु त छँदै छ जसरी पनि। यही वातावरणमा घुलमिल हुनु नै छ। चिया सकिन लाग्दा आफूलाई सम्झाउँछु, ‘समय बित्दै जाला। साथीहरू पनि बन्नेछन्। तिनै साथीहरूसँग बसेर भए पनि दूध-चिया पकाएर खानेछु र खुवाउने छु। यति मेहनत गरेर बनाउने छु कि कम्तीमा यहाँ बसुन्जेल त्यही चियाको स्वादले मलाई थेगिरहोस्।’
यति सम्झेछि कालो चियाको अलिकति बाँकी रहेको तातो वाफसँगै मनको चिसोपन पनि बिस्तारै पग्लिन थाल्छ। म जुरुक्क उठेर आफ्नो घरतिर लाग्छु।