
लुम्बिनी–भारतको बोधगयामा बौद्ध अनुयायीहरुमाथि भारत सरकारले गरेको दमनका विरोध गर्दै बौद्ध सम्पदा संरक्षण समाजले एक्यबद्धता जनाएको छ।
शनिबार बुद्धजन्मस्थल लुम्बिनीस्थित महिलबवारमा प्रदर्शन गर्दै बोधगयामा बौद्धमार्गीहरु प्रति भईरहेको दमन रोक्न र गैरबुद्ध समुदायलाई बोधगयाको व्यवस्थापनबाट हटाउन माग गर्दै प्रदर्शन भएको हो।
प्रदर्शनकारीहरुले भारतको बीटी एक्ट १९४९ खारेजीको माग गर्दै बौद्ध सम्पदाहरुलाई बौद्ध धर्मावलम्बीहरुलाई मात्र दिन माग अघि सारेका हुन्।
बोधगयाको महाबोधी विहारको व्यवस्थापन गैर बौद्धिष्टहरुलाई दिएको भन्दै त्यहाँका बौद्ध धर्मावलम्बीहरु अनशन बसेका छन्। फेबु्रअरी १२ तारिखदेखि अनशन गरिएकोमा शुक्रबार बिहार सरकारले दमनपूर्ण तरिकाले हटाएको भन्दै त्यसको विरोधस्वरुप यो प्रर्दशन गरिएको बौद्ध सम्पदा संरक्षण समाजका संयोजक हरिओम विश्वकर्माले बताए।
उनले बौद्ध धर्मावलम्बीहरुमाथि गरिएको दमन बन्द गर्न आग्रहसहित बौद्ध धर्मावलम्बीहरुको समर्थनमा ऐक्यवद्धता जनाउन लुम्बिनीमा शान्तीपूर्ण प्रर्दशन गरेको बताए।
‘भारतमा मात्र हैन नेपालमा पनि बौद्ध सम्पदाहरुमा गैरबौद्ध धर्मावलम्बीहरुको हाली मुहाली हुँदै आएको छ,’ विश्वकर्माले भने, यो प्रतिकात्मक प्रर्दशन मात्र हो, यसलाई नसच्चाए नेपालमा पनि भोली यसले उग्र रुप लिनेछ।’
प्रर्दशनकारीहरुले लुम्बिनी विकास कोषको सञ्चालक समितिमा पनि बुद्धिष्टहरु मात्रै राख्नुपर्ने माग राखे। गैरबुद्धिष्ट कोषको समितिमा रहँदा बौद्ध धर्ममाथि अन्य धर्मको अतिक्रमण हुने उनको भनाइ छ।
बौद्ध समाज नेपालका केन्द्रीय अध्यक्ष शंकर गाहा मगरले गैरबौद्ध धर्मालम्बीहरुलाई बौद्ध धर्मप्रति अपनत्व नहुने बताए। उनले भारतमा भएको आन्दोलन लुम्बिनी विकास कोषसंग पनि सम्बन्धित रहेको कारण नेपालबाट भारतीय आन्दोलन प्रति ऐक्यवद्धता जनाइएको बताए।उनले लुम्बिनी विकास कोषमा राजनैतिक नियुक्ती भन्दा पनि बौद्ध धर्मावलम्बीहरु संघ संस्थाबाट सञ्चालक समितिको चयन हुनुपर्ने माग अघि सारे।
प्रर्दशनमा बौद्ध समाज नेपालसँगै बौद्ध सम्पदा संरक्षण समाजका सदस्यहरुको सहभागिता रहेको थियो। बुद्धजन्मस्थल लुम्बिनी गौतमबुद्धको जन्मस्थल भएकाले यहाँबाट ऐक्यवद्धता गरेर सन्देश दिन खोजिएको बौद्ध समाज नेपालका महासचिव चन्दा थापाले जानकारी दिइन्।