ट्रम्प–जेलेन्स्की चर्काचर्कीपछि के भने विश्वका नेताले?

हिमाल प्रेस १७ फागुन २०८१ १५:०२
66
SHARES
ट्रम्प–जेलेन्स्की चर्काचर्कीपछि के भने विश्वका नेताले? फाइल तस्बिर : एपी।

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको वार्तामा चर्काचर्की भएको छ।

दुवै नेताले आ–आफ्नो अडान राख्ने क्रममा चर्काचर्की भएको हो। वार्ताका क्रममा दुवै नेताले आफ्ना धारणा राख्ने क्रममा भनाभनको अवस्था आएको हो।

वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएका थिए। त्यसपछि आक्रोशित बनेका ट्रम्पले जेलेन्स्कीसँग भने,‘तपाईँहरू या त सम्झौत गर्न तयार हुनुस् वा छाडिदिनुस्। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।’

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए। उनले भने,‘तपाईँ लाखौँ मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ। तपाईँ तेस्रो विश्वयुद्ध निम्त्याउन खोजिरहनु भएको छ र तपाईँले जे गरिरहनु भएको छ, त्यो देशप्रतिको अपमान हो।’

ट्रम्पले हालसालै युक्रेनी समकक्षीलाई तानाशाहको संज्ञा दिए पनि युक्रेनको खनिज सम्पदा बाँडफाँट गर्ने र रूससँग शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउसको भ्रमण गरेका हुन्।

फ्रान्स र बेलायतका नेताहरूले पनि ह्वाइट हाउसमा आएर ट्रम्पलाई किएभसँगको सहकार्य नछोड्न आग्रह गरेपछि यो वार्ता भएको हो।

उपराष्ट्रपति जेडी भान्सले युद्ध अन्त्यका लागि ‘कूटनीति’ आवश्यक रहेको बताएपछि आक्रोश चुलिएको थियो। भान्सको भनाइपछि जेलेन्स्कीले ‘कस्तो प्रकारको कूटनीति’ भनेर सोधेको र भान्सले त्यसपछि उनलाई राष्ट्रपतिको कार्यालयमा ‘अपमानजनक’ भएको आरोप लगाएका थिए।

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो।

राष्ट्रपति कार्यालयबाट बाहिरिने क्रममा फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले आफू र ट्रम्पबीच हुन पुगेको विवाद ‘दूवै पक्षका लागि ठीक नभएको’ प्रतिक्रिया दिए।

त्यस क्रममा उनले पछिल्लो घटनाका बाबजुद दुई देशबीचको सम्बन्ध अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरे।

वार्ताका क्रममा ट्रम्पले रूससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताएको र जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरेको बताएको अमेरिकी राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ।

के भन्दैछन् विश्वका नेताहरू?

ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि विश्वभरका नेताहरूले आ–आफ्नो धारणा व्यक्त गरेका छन्। कतिपय युरोपीय मुलुकका नेताले युक्रेनको समर्थन गरेका छन्। त्यस्तै केही अमेरिकी सांसदहरूले पनि ट्रम्प र उपराष्ट्रपति वेन्सलाई दोषी ठहर गरेका छन्।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रूसले अवैध र अनुचित तरिकाबाट युक्रेनमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘तीन वर्षदेखि युक्रेन साहस र जवाफी कारबाहीका लागि युद्ध लडिरहेको छ। उसको लडाइँ लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुताका लागि हो। यो एक यस्तो लडाइँ हो जसले सबैका लागि अर्थ राख्दछ।’

ट्रुडोले क्यानाडाले युक्रेनलाई दिइरहेको समर्थन कायमै राख्ने बताएका छन्।

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफूहरू युक्रेनसँग रहेको बताएका छन्। उनले लेखेका छन्,‘युक्रेनी मित्र, तपाईँहरू एक्लो होइन।’

त्यस्तै स्पेनले पनि युक्रेनलाई साथ दिने प्रतिक्रिया दिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ‘युक्रेन, स्पेन तपाईँसँग खडा छ’ लेखेका छन्।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि युक्रेनलाई समर्थन जनाएका छन्। उनले भनेका छन्,‘स्वीडेन युक्रेनसँग खडा छ। तपाईँ एक्लै होइन बरू पूरा युरोप युक्रेनको स्वतन्त्रताका लागि साथ दिन तयार छ।’

आयरल्यान्डका उपप्रधानमन्त्री सिमोन ह्यारिसले पनि युक्रेनलाई समर्थन जनाएका छन्। युक्रेनलाई निदोर्ष ठहर गर्दै उनले भनेका छन्,‘रूसको अवैध हमलाका लागि युक्रेनलाई दोषी ठहर गर्न सकिँदैन। हामी युक्रेनको साथमा छौँ।’

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग कुरा गरेका छन्। १० डाउनिङ स्ट्रीटका प्रवक्ताले भनेका छन्,‘युक्रेनलाई हाम्रो समर्थन जारी छ। युक्रेनको सम्प्रभुता र सुरक्षालाई मध्यनजर गरी शान्ति स्थापनार्थ हरसम्भव कोसिस गरिरहेका छौँ।’

यता कतिपय अमेरिकी नेताहरूले जेलेन्स्कीलाई दोषी बताउँदै माफी माग्नुपर्ने बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रूयिबोले जेलेन्स्कीले माफी माग्नुपर्ने बताएका हुन्।

डेमोक्रेटिक सांसद चक शुमरले भने ट्रम्पलाई दोषी बताएका छन्। उनले भनेका छन्,‘ट्रम्प र वेन्स गलत काम गरिरहेका छन्। सिनेट डेमोक्रेट्स स्वतन्त्रता र लोकतन्त्रका लागि लड्न कहिल रूक्दैन।’

रिपब्लिकन सांसद डौन बेकनले अमेरिकी विदेश नीतिका लागि खराब दिन भएको बताएका छन्। उनले भनेका छन्,‘अमेरिकी विदेश नीतिका लागि एउटा खराब दिन रह्यो। युक्रेन स्वतन्त्रता र कानुनी राज्य चाहिरहेको छ। युक्रेन पश्चिमको हिस्सा बन्न खोजेको छ। रूस हामी र पश्चिमी मूल्यसँग घृणा गर्दछ। हामी स्वतन्त्रताको पक्षमा खडा छौँ भन्ने कुरा प्रस्ट पारिदिनुपर्छ।’

प्रकाशित: १७ फागुन २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast