सिँचाइ सुविधापछि भिरगाउँका किसानले तीन बाली खेती गर्न थाले

हिमाल प्रेस ११ चैत २०८१ ११:२९ | Monday, March 24, 2025
सिँचाइ सुविधापछि भिरगाउँका किसानले तीन बाली खेती गर्न थाले

इलाम- इलाम नगरपालिका-१० भिरगाउँमा सिँचाइ योजना पूराभएपछि किसानलाई खाद्यबालीसँगै तरकारी खेती गर्न सहज भएको छ। पहिले यहाँ वर्षमा एक मात्र बाली उत्पादन हुने थियो तर सिँचाइ आयोजनापछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन्।

साना सिँचाइ कार्यक्रमअन्तर्गत ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजनापछि किसानलाई ठूलो राहत मिलेको छ। स्थानीय अँधेरी खोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए। यस आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।

आयोजना निर्माण भएपछि पानी आपूर्ति सुरु भएपछि भिरगाउँका किसान खुसी भएका छन्। पानीको अभावमा खेत बाँझै राख्नु परेको थियो तर अहिले सिँचाइ सुविधाले किसानलाई राहत दिएको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए।

स्वीडेन सरकारको १२ लाख ५८ हजार, संघीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको ८ लाख ३८ हजार र स्थानीय उपभोक्ताको ४ लाख १९ हजारको साझेदारीमा उक्त आयोजना पुनर्निर्माण गरिएको हो।

आयोजना पुनर्निर्माणपछि पहिले धान र मकै खेती मात्र गर्ने भिरगाउँका किसानले अहिले मौसमी र बेमौसमी तरकारी र नगदेबाली उत्पादन गर्न थालेका छन्।

उपभोक्ता समिति सचिव मनकुमारी समालले भनिन्, ‘पहिले केवल धान र मकै खेती मात्र हुन्थ्यो अब सिँचाइ सुविधाले बेमौसमी तरकारीको व्यावसायिक खेतीमा परिवर्तन ल्याएको छ। यसले किसानको आर्थिक अवस्था सुधार्नेछ।’

स्थानीय उपभोक्ता भीमकुमारी मगरले भनिन्,‘आयोजना पुनर्निर्माणपछि हामी अब अकासे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएका छौं।’ अहिले भिरगाउँका किसानले तीन बालीसम्म खेती गर्न थालेका छन्। सिँचाइ सुविधाले अन्नबाली, नगदेबाली र तरकारीबालीको उत्पादनमा वृद्धि भएको छ।

कृषि ज्ञान केन्द्रका तथ्यांक अनुसार यसवर्ष १० हजार ३३२ हेक्टरमा धान खेती गरिएको छ र ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ। इलाममा रन्जित, राधा ४, चुल्ठेर र अन्य स्थानीय जातको धान खेती गरिन्छ।

प्रकाशित: ११ चैत २०८१ ११:२९ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast