शिक्षा ऐन तत्काल पारित गर्न सांसदको दबाब, आन्दोलनबाट शिक्षकलाई विद्यालय फर्काउन माग

हिमाल प्रेस ७ चैत २०८१ १२:१२ | Thursday, March 20, 2025
शिक्षा ऐन तत्काल पारित गर्न सांसदको दबाब, आन्दोलनबाट शिक्षकलाई विद्यालय फर्काउन माग

काठमाडौँ- सांसद रमा कोइराला पौडेलले शिक्षक आन्दोलनलाई संसद्‌मा प्रमुख विषयका रूपमा उठाउँदै यसको समाधानका लागि सरकारसँग तुरुन्त कदम चाल्न आग्रह गरेकी छिन्।

आजको संसद् बैठकमा बोल्दै उनले शिक्षक महासंघको आन्दोलन र यसको समाधानका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै आन्दोलनको कारण शिक्षा प्रणालीमा नकारात्मक प्रभाव पर्ने  बताइन्।

‘नेपाल शिक्षक महासंघ एक आधिकारिक ट्रेड युनियन महासंघ हो। यसले शिक्षकहरूको हकमा आन्दोलन गरिरहेको छ। शिक्षकहरूसँग गरेका सम्झौताहरू सरकारले कार्यान्वयनमा ल्याउन सकेको छैन,’ सांसद कोइरालाले भनिन्।

उनले शिक्षकहरूको आन्दोलनलाई केवल समस्याको रूपमा होइन समग्र शिक्षायात्राको हकको रूपमा देख्नुपर्ने बताइन्। ‘अब शिक्षकहरूको मागलाई सम्बोधन गर्दै उनीहरूको विद्यालय फर्कने वातावरण बनाउनु आवश्यक छ। यसलाई हल नगरेसम्म शिक्षक आन्दोलनलाई रोक्न सम्भव छैन,’ सांसद कोइरालाले जोड दिइन्।

सांसद कोइरालाले सरकारसँग आग्रह गर्दै भनिन्, ‘शिक्षक महासंघको माग भनेको शिक्षा ऐन २०२८ को सट्टा नयाँ शिक्षा ऐन ल्याउने हो। यसमा ढिलाइ नगरी शीघ्र नयाँ शिक्षा ऐन पारित गर्न अति महत्त्वपूर्ण छ।’

सांसद कोइरालाले शिक्षकहरूको आन्दोलनलाई समाधान गर्दै विद्यार्थीहरूको भविष्यलाई असर नपर्ने गरी विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग आग्रह गरिन्।

प्रकाशित: ७ चैत २०८१ १२:१२ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast