 सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ। फाइल तस्बिर।
                             सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ। फाइल तस्बिर।
                                            काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राजामहाराजा खोज्नुको औचित्य नरहेको बताएका छन्।
नेपाल चेपाङ संघले आज (बिहीबार) यहाँ आयोजना गरेको ‘चेपाङ स्वायत्त, विशेष र संरक्षित क्षेत्र घोषणा तथा चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयको छलफल कार्यक्रममा मन्त्री गुरुङले वर्तमान अवस्थामा राजतन्त्र खोज्नु निरर्थक भएको टिप्पणी गरे।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि संघीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै संघीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिए। आदिवासी जनजाति समुदायलगायत सीमान्तकृत वर्गलाई संघीयता महत्त्वपूर्ण उपलब्धि भएको उनको कथन थियो। ठूलो राजनीतिक संघर्ष पछि स्थापित वर्तमान शासन व्यवस्थाबाट लाभ लिन सीमान्तकृत समुदाय चनाखो हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिए।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आदिवासी जनजातिका लागि महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘हामी यो व्यवस्थाले दिएका अधिकारहरुबाट लाभ उठाउन अझै चुकेका छौँ।’
राष्ट्रिय एकताको मूल आधार समावेशी र समतामूलक समाज भएको बताउँदै उनले समावेशी पद्धति कार्यान्वयनमा राज्य संवेदनशील हुनुपर्ने बताए। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 