 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरूले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै भने,‘कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन।’
प्रधानमन्त्री ओलीले श्रमिकको मन प्रसन्न नभइकन उद्योग व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै श्रमिक रोजगारदातामा रुपान्तरण हुनसक्ने भएकाले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। ‘व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथी मारिएका थिए तर हाम्रा उद्देश्य मारिएका थिएनन्। हामीहरू जेल गएका थियौँ तर हाम्रा उद्देश्य जेल गएका थिएनन्,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने र काम गर्न चाहने व्यक्तिहरूसँग भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने उल्लेख गर्दै व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको स्पष्ट पारे।
‘हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन। नचाहिने प्रदूषित कुरा हामी बोकेर हिँड्दैनौँ। हामीलाई देशको विकास र परिवर्तन गर्नुछ। विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफैँ सेलाएर जान्छ। यसमा मजदूर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्री ओलीले भने।
हिमाल पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा, प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरे।
‘सेभ द हिमालय–प्रोटेक्टिङ राइट्स अफ वर्कर्स’ विषयमा विमर्श समेत गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप्रसाद रिमाल, नेकपा एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, संयुक्त ट्रेड युनियन समन्वय समितिका अध्यक्ष जगत सिङ्खडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालस्थित राष्ट्रिय निर्देशक लगायत सहभागी थिए।
कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 