शिक्षा ऐन माग गर्दै माओवादी केन्द्रको कार्यालयमा शिक्षक-कर्मचारीको धर्ना

हिमाल प्रेस १ चैत २०८१ १५:०८ | Friday, March 14, 2025
शिक्षा ऐन माग गर्दै माओवादी केन्द्रको कार्यालयमा शिक्षक-कर्मचारीको धर्ना

काठमाडौँ- नेपाल शिक्षक महासंघले अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सुरु गरेको दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएको छ। मंगलबार सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा र बुधबार नेकपा एमाले कार्यालयमा धर्ना दिएका शिक्षक र विद्यालय कर्मचारीहरूले शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।

दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक-२०८० लाई शिक्षा ऐनको रूपमा संसद्काे यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने आफूहरूको प्रमुख माग भएको बताए।

उनले भने, ‘विगतमा पटकपटक आन्दोलन गरेर सहमति भएका छन्। ती सहमतिहरूलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्छ भनेर दबाब निर्माण गर्नका लागि आन्दोलनमा छौं।’

महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ। पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौँमा रिले अनशन र काठमाडौँमा अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ।

प्रकाशित: १ चैत २०८१ १५:०८ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast