 
                             
                                            भक्तपुर- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आगामी फागुन २४ गते काठमाडौँको माइतीघर मण्डलामा आयोजना हुने आन्दोलनमा देशभरका शिक्षक-कर्मचारीलाई सहभागी हुन निर्देशन दिएको छ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि भवनमा मंगलबार महासंघको राष्ट्रिय समितिको विस्तारित कार्यालयीय बैठकबाट निर्णय गर्दै सम्बन्धित सबै जिल्ला समितिहरूलाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ।
बैठकका निर्णय अनुसार हरेक जिल्लाले राष्ट्रिय समितिले तोकेको संख्यामा शिक्षक-कर्मचारीलाई आन्दोलनमा सहभागी गराउनु पर्नेछ। साथै, आन्दोलनकै दिन सम्पूर्ण आबद्ध तथा सम्बद्ध संस्थाका कार्यक्रमहरू स्थगित गरी आन्दोलनलाई प्राथमिकता दिन भनिएको छ।
आन्दोलन परिचालनका लागि प्रत्येक सदस्यबाट १०० शुल्क उठाउन र सो मध्ये ५० राष्ट्रिय समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ। यसका लागि प्रत्येक जिल्लाले रसिद बनाएर शुल्क संकलन गर्नुपर्नेछ। संकलित रकम नेपाल शिक्षक महासंघका तोकिएका बैंक खातामध्ये कुनै एकमा जम्मा गर्न आग्रह गरिएको छ।

महासंघले २०८० सालको विधानअनुसार सदस्यता शुल्क समेत शीघ्र संकलन गरी प्रतिसदस्य ५० दरले राष्ट्रिय समितिका खातामा जम्मा गर्न अनुरोध गरेको छ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको हकहित रक्षा तथा माग पूरा गराउने उद्देश्यले आन्दोलनमा एकताबद्ध भई सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 