 
                             
                                            सुनसरी- नेपालमा रोजगारीको खोजीमा दैनिक सयौँ युवा विदेशिने गर्छन्। तर, केही युवाले विदेशको अनुभवलाई स्वदेशमै उद्यमशीलतामा रूपान्तरण गर्न सफल भएका छन्। यस्तै उदाहरणीय पात्र हुन् रामधुनी नगरपालिका–२, कालीझोडाका सुरकुमार राई। लामो समय विदेशमा श्रम गरी फर्किएपछि उनले आफ्नो अनुभव र पूँजीलाई कृषि क्षेत्रमा लगानी गर्दै गोलभेँडासहित विभिन्न सागसब्जीखेती सुरु गरे। हाल मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न सफल राईका लागि यो यात्रा सहज भने थिएन। उचित प्रविधिको प्रयोग, सरकारी सहयोग र आत्मविश्वासकै कारण उनी कृषि व्यवसायमा सफल भएका छन्।
११ वर्ष मलेसिया र सिङ्गापुरमा श्रम गरी स्वदेश फर्किएका राईले ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट अहिले वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन्। २०७६ मा ‘रामधुनी कृषि फार्म’ दर्ता गरी १२ कट्ठा जमिनमा गोलभेँडा तथा अन्य सागसब्जीखेती गरिरहेका उनी सफल कृषक बनेका छन्। ‘मैले विदेशमा आर्जन गरेको पूँजीबाट इलम थालेँ,’ राई भन्छन्, ‘बजारको समस्या छैन, व्यापारीहरू आफैँ फार्ममै आउँछन्।’
राईको फार्ममा गोलभेँडासँगै बोडी, सिमी लगायतका सागसब्जी लहलहाउँछन्। हाल तीन जना स्थायी कामदार छन् भने गोडमेल र मल हाल्ने मुख्य सिजनमा १० जनासम्म कामदार राख्ने गरेको उनी बताउँछन्। गोलभेँडाको सिजन अनुसार मूल्य फरक पर्ने उनले बताए। ‘मंसिरदेखि पुससम्म व्यापारीले फार्मबाटै ४५–६० प्रतिकेजीमा खरिद गर्छन्। अहिले भने मूल्य घटेर १०–१५ मा बेच्नुपरेको छ,’ उनले भने। प्लास्टिक टनेल प्रविधिको प्रयोगले उत्पादन वृद्धि भएको उनी बताउँछन्। स्थानीय सरकारले उत्कृष्ट किसानका रूपमा सम्मान गरेपछि उनले अझ उत्साहका साथ खेती विस्तार गरेका छन्।
गोलभेँडा आठ महिना उत्पादन हुन्छ। सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने र वार्षिक तीन हजार क्विन्टलसम्म बिक्री हुने गरेको राई बताउँछन्। स्थानीय सरकारले बीउ, मल लगायतका अनुदान उपलब्ध गराउँदै आएको छ। कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको सात लाख अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको उनले जनाए। ‘अनुदानसँगै तालिम पाउन सके कीरा नियन्त्रण गर्न अझ सजिलो हुन्थ्यो,’ उनी भन्छन्, ‘सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने व्यवसाय अझ बढाउन सकिन्छ।’
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा हाल ८,१५३ हेक्टरमा सागसब्जीखेती भइरहेको छ। रामधुनी, बराहक्षेत्र लगायतका क्षेत्रमा किसानहरूले गोलभेँडा, बन्दाकोपी र बोडीखेती गरिरहेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 