 
                             
                                            लुम्बिनी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई बौद्धमार्गीहरूको आस्थाको केन्द्र मात्र नभई विश्व शान्ति पर्यटनको प्रमुख केन्द्रको रूपमा चित्रित गरेका छन्।
दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनीको महत्त्वलाई दर्साउँदै भने, ‘लुम्बिनी शान्तिप्रियहरूको पवित्र स्थल हो र यहाँबाट शान्ति, एकता, सदभाव र मानवताको सन्देश फैलाउन सकिन्छ।’
महोत्सव चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न निकायहरूले आयोजना गरेका हुन्। कार्यक्रमको उद्घाटन समारोह शुक्रबार विहान गरिएको हो।
मन्त्री पाण्डेले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा रहेका स्थलको संरक्षणको लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए। उनले नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिनसक्ने बताउँदै लुम्बिनीलाई यसको प्रमुख गन्तव्यको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्ष र पर्यटनमन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई पनि विश्व शान्ति सहर बनाउनुपर्ने आवश्यकता औँल्याए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनीलाई बौद्ध धर्म र शान्तिको सन्देश दिने स्थलको रूपमा प्रस्तुत गर्दै महोत्सवको महत्त्वमाथि बाेले।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपाल र चीनबीच सांस्कृतिक, खेलकुद र जनस्तरका आदान-प्रदानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराएर गरिएको थियो। शनिबार लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको छ।
यस महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोर्ट्स संघ, केजीएच ग्रुप, भिभो, दीपल र बुद्ध एयरले सहयोग पुर्याएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 