 
                             
                                            काठमाडौँ- सांसद डा.अमरेशकुमार सिंहले रौतहट सदरमुकाम गौरमा भारतीय नागरिकको विवाद घटनामा मेयर शम्भु साहको संलग्नताबारे नयाँ खुलासा गरेका छन्।
सिंहले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेयर साहलाई तस्कर र बिचौलियाको आरोप लगाउँदै भने,‘हाम्रो राजनीतिले तस्कर र बिचौलियालाई नेता बनाउन खोज्यो। तस्कर र बिचौलियाले आफ्नो पुरानो पेसा कहिल्यै पनि छोड्न चाहँदैन।’
सिंहले गौर सहरमा ७१ वर्ष पहिले स्थापना भएको भारतीय नागरिकको राइस मिलको उदाहरण बैठकमा प्रस्तुत गरे। उनले भने, ‘२०१० सालमा भारतीय नागरिकले गौरमा राइस मिल खोल्यो, आजभन्दा ७१ वर्ष पहिला। त्यो मिलको लगानीकर्ता भारतीय नागरिक थिए। यो मेयरले २०५७ सालमा मिलको पार्टपुर्जा बेच्न लैजाँदा रौतहटमा प्रहरीले समात्यो। अहिले त्यही मेयरको मिलेमतोमा नक्कली भारतीयलाई खडा गरेर नेपाली नागरिकता पर्सा जिल्लाबाट दिलाएर मोहियानी हक कायम गरेर त्यो जग्गामा चलखेल गर्न खोजिरहेको छ।’
आफूसँग प्रमाण भएको भन्दै उनले बैठकमा केही प्रमाण सरकारलाई देखाए। ‘मसँग डकुमेन्ट छ, जसले प्रमाणित गर्दछ जिल्ला प्रशासन कार्यालय रौतहटले २०७५ सालमा भारतीय नागरिकताको रद्द गर्ने सिफारिस गरेको छ। अब त्यो सिफारिस कहाँ पुगेको हो भन्ने कुरा गृह मन्त्रालयको जवाफ जान्न चाहन्छु,’ सिंहले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 