रेडियो नेपालका पत्रकार मञ्जित राममाथि आक्रमण

हिमाल प्रेस ५ चैत २०८१ ९:३४ | Tuesday, March 18, 2025

महोत्तरी- रेडियो नेपालका महोत्तरी संवाददाता मञ्जित राममाथि भएको सांघातिक आक्रमणको चौतर्फी निन्दा एवं भत्र्सना गरिएको छ।

जिल्लाको सोनमा गाउँपालिका-५ स्थित आफ्नै निवासमा बसिरहेको अवस्थामा आइतबार दिउँसो गाउँकै कुँजविहारी यादवसहित निजको परिवारका सदस्य मिलेर पत्रकार रामको घरमा जबर्जस्ती प्रवेश गरी बन्धक बनाएर निर्घात रूपमा कुटपिट गर्नुका साथै बर्बर यातना दिएर घाइते बनाएकोप्रति सञ्चारमाध्यमले निन्दा एवं भत्र्सना व्यक्त गरेका हुन्।

पत्रकार रामलाई कुटपिट, बन्धक, बर्बर यातना र घाइते बनाएकामा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तर्फबाट महासचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासङ्घ प्रादेशिक कार्यसमिति मधेस प्रदेशको तर्फबाट महासचिव शैलेन्द्र महतो, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको तर्फबाट सचिव रामनारायण महतो, नेपाल प्रेस युनियन महोत्तरी शाखाबाट सचिव नवीन चौधरी र प्रेस सेन्टर नेपाल महोत्तरीबाट सचिव विकास आर्य ठाकुरले आज छुट्टाछट्टै विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन्।

जारी विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकार राममाथि गरिएको आक्रमण निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराध भएको, पत्रकारलाई हतोत्साहित एवं त्रसित बनाउने काम भएकाले यस हर्कतमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकार रामलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ।

विज्ञप्तिमार्फत शरीरका विभिन्न भागमा चोट लागेर प्रादेशिक अस्पताल जलेश्वरमा उपचाररत पत्रकार रामको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले घाइते पत्रकारको स्वास्थ्य परीक्षण र आवश्यक जाँच गराइएको बताउँदै घाउखतको रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया अघि बढाइने बताए।

प्रकाशित: ५ चैत २०८१ ९:३४ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast