 युक्रेनी सेना। तस्बिर साभार : वासिङ्टन पोस्ट
                             युक्रेनी सेना। तस्बिर साभार : वासिङ्टन पोस्ट
                                            काठमाडौँ- रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा दोहोरो अवस्था देखिएका छन्। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युद्धविराम सम्झौताका लागि प्रयास भइरहेको छ। सोही क्रममा उनका विशेष दूत रुस पुगेको बीबीसीले जनाएको छ।
अर्कोतिर दुवै देशले बिहीबार राति एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन्। परस्पर विरोधी अवस्थाले शान्ति प्रयास र सैन्य कारबाहीबीच तनाव स्पष्ट पारेका छन्।
युक्रेनले गरेको ड्रोन आक्रमणले रुसको क्रास्नोदार क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा निसाना बनाएको थियो। आक्रमणका कारण तुआप्से बन्दरगाहमा आगलागी भएको थियो। प्रशोधन केन्द्र आर्थिक रूपमा मात्र नभई रुसी सेनाका लागि पनि सहयोगी छ।
युक्रेनी स्रोतहरूका अनुसार आक्रमणमा ताम्बोभ र सारातोभ क्षेत्रका ग्यास पाइपलाइनका कम्प्रेसर स्टेसन र बेलगोरोदमा रहेको मिसाइल डिपोलाई पनि लक्षित गरिएको थियो। यसबाहेक मस्कोमाथि पनि पुनः आक्रमण भएको छ। यी आक्रमणले रुसको सैन्य र ऊर्जा संरचनालाई क्षति पुर्याउने युक्रेनको रणनीति झल्काउँने रुसी अधिकारीहरूले बताएका छन्।
रुसले पनि युक्रेनविरुद्ध आक्रामक कारबाही जारी राखेको छ। खार्किएभमा भएको आक्रमणमा सात जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। रुसी रक्षा मन्त्रालयले रातभरि २८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ।
युक्रेनी वायु सेनाका अनुसार रुसले २७ ड्रोन प्रहार गरेको थियो, जसमध्ये १६ वटा उनीहरूको हवाई रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ। रुसी आक्रमण मुख्य रूपमा खार्किएभ र डोनेत्स्क क्षेत्रमा केन्द्रित थिए।
अमेरिकाले शान्तिको दिशामा कदम चालिरहेको छ तर दुवै पक्षका सैन्य कारबाहीले तनाव कम गर्ने सम्भावनामाथि प्रश्न उठाएको छ। क्रास्नोदारको तेल प्रशोधन केन्द्रजस्ता रणनीतिक लक्ष्यमा आक्रमण र खार्किएभजस्ता नागरिक क्षेत्रमा घाइते हुनुले दुवै देश अझै पनि आफ्नो स्थिति बलियो बनाउन लागिपरेको संकेत गर्छ। ट्रम्पका विशेष दूतको रुस भ्रमणबाट के नतिजा निस्कन्छ, त्यो हेर्न बाँकी छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 