नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्तामा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल। तस्बिर : संसद् सचिवालय
                                            काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ।
नवनियुक्त राजदूत मायदाले आज (मंगलबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट भएको हो।
सो अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो। भेटमा अध्यक्ष दाहालले नवनियुक्त राजदूत मायदालाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल बसाइ सुखद, सिर्जनशील र सफल रहने विश्वास व्यक्त गरे।
नेपाल-जापान सम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने र त्यसमा राजदूत मायदाको भूमिका महत्त्वपूर्ण रहने बताए।
जापान सरकारको तर्फबाट नेपालले बहुपक्षीय सहायता एवं प्राविधिक सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, औद्योगिक क्षेत्र, जलविद्युत, संस्कृति तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा नेपाल लाभान्वित भएको बताए।
काठमाडौं-नागढुंगा सुरुङ मार्ग निर्माणसँगै नेपाल सुरुङ प्रविधितर्फ अघि बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुरुङ मार्ग लगायत अन्य सडक पूर्वाधार निर्माणमा जापानको सीप, प्रविधि र सहयोग प्राप्त भई गुणस्तरिय काम भइरहेकोमा खुसी व्यक्त गरे।
नेपालको संघीय संसदमा नेपाल-जापान संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदान प्रदान र भ्रमण आदान प्रदान गर्न सहज हुने बताए।
उच्च शिक्षा र जापानी भाषा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी जापानमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अध्ययन, रोजगारी र व्यापार(व्यवसायको सिलसिलामा झण्डै २ लाख नेपालीहरु जापानमा रहेको बताए।



