लुम्बिनी– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस–कम्युनिष्ट र राजा अट्ने गरी नवीन समझदारी गर्नुपर्ने बेला आएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै विश्व राजनीति र राष्ट्रिय एकता कायम गर्न सबै शक्ति मिल्नुपर्ने बेला आएको बताएका हुन्।
संवैधानिक रुपमा राजसंस्थालाई राख्ने र जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री स्विकार गरेर जान कांग्रेस र कम्यूनिष्ट पार्टीहरुसँग अध्यक्ष लिङदेनको प्रस्ताव छ।
‘अझै मौका छ, सुध्रनुस्, अब देश यहि स्थितिमा रहन सक्दैन’ लिङदेनले भने, ‘कांग्रेस–कम्यूनिष्टलाई भद्रतापुर्वक भन्छु सुध्रनुस्, नत्र सकिन तयार हुनस्।’
उनले मुलुकलाई दुर्घटनाबाट बचाउन कसैले कसैलाई निषेध नगरी सबै अट्ने गरी विश्वमै नयाँ इतिहास बनाउन आग्रह गरे। ‘राजादेखि माओवादीसम्म अटाउने व्यवस्था गरौँ, कार्यकारी प्रधानमन्त्री चुनौँ, पूर्ण समानुपातिक निर्वाचन गरौँ,’ लिङदेनले भने।
उनले मुलुकमा राजसंस्था अभिभावकीय भूमिकामा रहँदा त्यसले एकताबद्ध बनाउने बताउँदै राष्ट्रपति देशको नभई दलको भएको बताए। ‘हामीले राजसंस्थालाई सवैधानिक रुपमा राख्ने भनेका हौँ,’ उनले भने।
अध्यक्ष लिङदेनले कांग्रेस–एमालेको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप समेत लगाए। उनले ठूला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारलाई संरक्षण गर्न बनाएको बताए। ‘अहिले सत्तारूढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागि रहेका छन्,’ उनले भने, ‘यी दलहरू सुध्रने कुनै सम्भावना छैन, समय खेर नफालौँ, व्यवस्था परिवर्तन गर्न लागौँ।’
अध्यक्ष लिङदेनले संवैधानिक राजसंस्था, हिन्दु राज्य, प्रदेश खारेज, कार्यकारी प्रधानमन्त्री र मुलुकमा विदेशी हस्तक्षेप रोक्नका लागि आन्दोलनको तयारीमा रहेको समेत बताए। उनले आफूहरुले चैतदेखि काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने समेत बताए।
यस्तै आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजसंस्थासहितको प्रजातन्त्र अहिलेको आवश्कता रहेको बताए। उनले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताउँदै संवैधानिक रुपमा राजा अपरिहार्य रहेको जिकिर गरे।
‘राजा देशको मालिक हुन्, नेता भडुवा हुन्,’ शाहीले भने, ‘भ्रष्टाचार गर्न र मुलुकलाई कंगाल बनाउनेहरुका विरुद्ध आन्दोलन गरौँ।’
उनले राप्रपाले चैतदेखि काठमाडौँमा व्यवस्था परिवर्तनको ऐजेन्डासहित आन्दोलन गर्ने बताए।
यस्तै आमसभामा उपाध्यक्ष विक्रम पाण्डे, अर्का उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, पूर्वमन्त्री निरञ्जन थापाले गणतन्त्र र धर्मनिरपेक्षता ०६२÷०६३ सालको जनआन्दोलनको ऐजेन्डा नै नरहेको बताउँदै अब जनताकै बलमा राजसंस्था र हिन्दु राज्य ल्याउने बेला आएको बताए।

                                             
                                             

