यूएसएडको निलम्बन रोक्न मस्कलाई अदालतको आदेश

हिमाल प्रेस ६ चैत २०८१ १९:१० | Wednesday, March 19, 2025
यूएसएडको निलम्बन रोक्न मस्कलाई अदालतको आदेश

काठमाडौँ- अमेरिकाका एक संघीय न्यायाधीशले एलन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डोज)’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न आदेश दिएका छन्।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डोजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) लाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले उल्लंघन गरेको बताएका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च र रोजगारी कटौती गर्न अर्बपतिको कानुनी अधिकारलाई चुनौती दिँदै यूएसएडका वर्तमान र पूर्वकर्मचारी तथा ठेकेदारहरूले दायर गरेको मुद्दाको जवाफमा चुआङले यस्तो आदेश दिएका हुन्।

उनीहरूले अमेरिकी संविधानको ‘नियुक्ति खण्ड’ अन्तर्गत मस्कले आफ्नो अधिकार प्रयोग गर्न सिनेटको अनुमति पुष्टि गर्नुपर्ने तर्क गरेका छन्।

न्यायाधीश चुआङले मस्कलाई सरकारमाथि अथाह शक्ति प्रयोग गर्न अनुमति दिने भने संविधानको ‘नियुक्ति खण्ड’ को करिब अन्त्यको ढोका खोल्न र यसले ‘प्राविधिक औपचारिकताबाहेक अरू केही होइन’ मा सीमित गर्ने बताए।

चुआङले मस्क र डोजको कार्यले सन् १९६१ मा कांग्रेसले स्थापना गरेको यूएसएडलाई बन्द गर्ने निर्णय कांग्रेसको अधिकार उल्लंघन रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता विश्वभर मानवीय सहायता वितरण गर्ने यूएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने र करिब १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रम गर्ने बताएका थिए।

अदालतको यो फैसला ट्रम्पको लागत कटौती र सरकारी कर्मचारी कटौती अभियानका लागि पछिल्लो कानुनी झड्का हो। अर्का एक न्यायाधीशले हालै मस्कको डोजले बर्खास्त गरेका विभिन्न एजेन्सीमा कार्यरत हजारौँ परीक्षणकालका कामदारलाई पुनः नियुक्त गर्न आदेश दिएका छन्।

चुआङले इमेल र अन्य इलेक्ट्रोनिक प्रणालीमा पहुँच हालका यूएसएड कर्मचारी र ठेकेदारहरूलाई पुनःस्थापित गर्न आदेश दिएका छन्।

ट्रम्पले गत जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यूएसएडअन्तर्गतका सबै अमेरिकी विदेशी सहायता रोक्न निर्देशन दिएका थिए।-रासस/एएफपी

प्रकाशित: ६ चैत २०८१ १९:१० | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast