 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा समर्थकहरूले भव्य स्वागत गरेका छन्। पोखराबाट आइतबार अपराह्न काठमाडौँ आएका शाहलाई समर्थकहरूले भव्य स्वागत गरेका हुन्।
उनलाई त्रिभुवन विमानस्थलभित्र राप्रपाका नेताहरूले स्वागत गरेका थिए भने त्रिभुवन विमानस्थलको प्रवेशद्वारमा ठूलो संख्यामा सहभागी समर्थकले स्वागत गरेका थिए। शाहलाई स्वागत गर्न समर्थकहरू नेपाली झण्डासहित विभिन्न स्थानबाट विमानस्थल पुगेका थिए। राजावादीहरूको भीडका कारण केहीबेर आसपासको क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो।
एक महिनाको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किएका हुन् । उनी समिट एयरको विमानमार्फत पोखराको पुरानो विमानस्थलबाट आइतबार दिउँसो ३ बजेर २० मिनेटतिर काठमाडौँका लागि उडेका थिए।
पूर्वराजाको बिदाइमा राजावादी तथा उनका समर्थकहरुले पञ्चेबाजाले स्वागत गर्दै दुबोको माला र रातो टीका लगाइदिएका थिए।
गत २७ माघमा पोखरा पुगेका पूर्वराजा पोखरामा २ सातामात्र बस्ने तालिका भए पनि एक महिना लामो समयसम्म बसेका थिए उनी सुरुमा रुपाकोट रिसोर्टमा करिब २ सातासम्म बसेरपछि पोखराको दोबिल्लास्थित माउन्ट ग्लोरी होटलमा बसेका थिए।
काठमाडौँ फर्किनुअघि उनले माउन्ट ग्लोरीमा आफ्ना समर्थक तथा शुभेच्छेकहरुमाझ बिदाइ भोज गरेका थिए। गत महिना राजाभन्दा केही समयपछि आएकी पूर्व रानी कोमल करिब दुई साता बसेर फर्किसकेकी थिइन्।
पोखरा बसाइका क्रममा पूर्वराजाले पोखरा र यसआसपासका जिल्लाका शक्तिपीठको दर्शन गरेका थिए। उनले पोखराको विन्ध्यवासिनी मन्दिर र केदारेश्वर मन्दिर, बागलुङको बागलुङ कालिका, मयाग्दीको गलेश्वरधाम, स्याङ्जाको कुल मन्दिर आलमदेवीको पूजाआजा तथा दर्शन गरे। उनले गत २२ फागुनमा पोखराको वीरेन्द्रचोकमा गत वर्ष निर्माण गरिएको पूर्व राजा वीरेन्द्र शाहको सालिक अनावरण गरे। पोखरा बसाइँमा उनको नागरिक अभिनन्दनसमेत गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 