काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गरेको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गरेपछि राप्रपा सांसदहरुले नियमापत्ति गरेका थिए। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएका हुन्। उनले उक्त शब्द रेकर्डबाट हटाउन माग गरे। यस्तै शाहीले प्रधानमन्त्रीले होच्चाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे।
राप्रपा सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि एमाले सांसदहरु समेत राप्रपा सांसदको विरोधमा उठेका थिए। सभामुख देवराज घिमिरेले राप्रपाले उठाएका विषयमा ध्यानाकर्षण भएको जनाएपछि बैठक सहज ढंगले अघि बढेको थियो।
शाहीको आक्रोशपछि प्रधानमन्त्रीले भनेका थिए, ‘नियमावलीको होइन, यहाँ संविधान उल्लघंन गर्ने, मास्ने कुरासँग म प्रश्न उठाइरहेको छ। सबैले यस देशमा व्यवस्था मान्नुुपर्छ। हल्ला गरेको भरमा राजनीति र संसद् सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन।’

                                             
                                             
                                             
                                             
                                             
                                             

