पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

हिमाल प्रेस १५ चैत २०८१ १२:२१ | Friday, March 28, 2025
पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा- आलु, गहुँ लगायतका अन्य बाली भित्र्याएका पाल्पाका किसानलाई यतिखेर चैते धान रोप्न चटारो छ। यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धान रोपाइँमा व्यस्त छन्।

पूर्वखोला गाउँपालिका-३ कलौलीकी गोमाया कामु अहिले पाँच रोपनी खेतमा चैते धान रोप्न व्यस्त छिन्। उनले भनिन्,‘चैते धानका लागि पानीको समस्या हुँदैन। उत्पादन पनि राम्रै हुन्छ।’ हिउँदे धान रोपाइँको परम्परा पाल्पामा धेरै पुरानो रहेको र यसबाट पर्याप्त उत्पादन प्राप्त हुने भएकोले उनीहरू नियमित रूपमा चैते धान रोप्दै आएका छन्।

यसैगरी, डढेटाका सोमबहादुर थापाले पनि करिब दुई कट्ठा खेतमा चैते धान रोप्न थालेका छन्। उनले भने,‘चैतको अन्तिमतिर रोपिसक्नुपर्ने हुन्छ। धान रोपेर सक्ने तयारीमा छौँ।’ बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट आम्दानी हुने भएकाले यो परम्परा पाल्पाका किसानले लामो समयदेखि जारी राखेका छन्।

महिलाहरू हरियो धानको बीउ काँढ्न र रोप्नमा व्यस्त छन् भने पुरुष खेत जोत्न, पानी मिलाउन र आलि गरा मिलाउनमै व्यस्त छन्। केही किसान हल गोरु लगाएर खेत जोतिरहेका छन् भने अन्यत्र ट्र्याक्टरको प्रयोग गरेर हिलो फेटेको देखिन्छ।

चैते धान रोपाइँको प्रचलन पाल्पाका धेरै गाउँपालिकामा फैलिएको छ। विशेष गरी, वडा नं. २, ३ र ४ का किसानहरूले चैते धान रोपाइँमा ठूलो चासो राखेका छन्। यस वर्ष सोमबारसम्म १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि शाखा प्रमुख चाँदनी चौधरीले जानकारी दिइन्।

पाल्पामा कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाउने काम भइरहेको पालिका अध्यक्ष नुनबहादुर थापाले बताए। यसका साथै, उन्नत जातको बीउ लगाउन थालेपछि उत्पादनमा वृद्धि भएको पनि जनाइएको छ।

पाल्पाका किसानले हिउँदे धान खेती गरेर आफ्ना परिवारलाई राहत दिने परम्परामा बिश्वास राखेका छन्। यदि सिँचाइको सुविधा थप विस्तार गर्न सकिएमा, यहाँका अन्य फाँटमा पनि हिउँदे धान रोप्न सकिने छ।

प्रकाशित: १५ चैत २०८१ १२:२१ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast