परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता, नेपालीलाई रिहा गर्न आग्रह

हिमाल प्रेस ५ चैत २०८१ १६:३९ | Tuesday, March 18, 2025
परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता, नेपालीलाई रिहा गर्न आग्रह

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँ दिल्लीमा रहेका उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो। भेटघाटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने नीति नेपालको नरहेको स्पष्ट गर्दै युद्धबन्दीका रुपमा युक्रेनमा रहेका सातजना नेपालीलाई यथासक्य छिटो रिहा गरिदिन अनुरोध गरिन्।

उनले मानव तस्करको फन्दामा परी नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती रुसी सेनामा भर्ना भई कार्यरत रहेकै अवस्थामा हाल युक्रेनी सेनाको नियन्त्रणमा रहेका सात नेपालीको रिहाइका लागि युक्रेनी विदेशमन्त्रीमार्फत युक्रेन सरकारसँग आग्रह गरेकी थिइन्।

सो अवसरमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। भेटका क्रममा मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यलगायतमा उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह पनि गरिन्।

भेटघाटका अवसरमा नेपाल र युक्रेनका सरकारी एवं कूटनीतिक राहदानी वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ चैत २०८१ १६:३९ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast