नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल.फाइल तस्बिर
                                            काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशको उद्घाटनका अवसरमा बोल्दै उनले विकासका लागि नीतिगत स्थायित्वका साथसाथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य रोक्न समेत आवश्यक भएको धारणा राखे।
‘निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ। रोजगारी सिर्जना गरेको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ। तर पछिल्लो समय आम मानिसमा गलत भाष्य छर्ने गरी कतिपय गतिविधि भएका छन्। जसले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरेको छ। यसमा परिवर्तन आवश्यक छ,’ उनले भने।
सरकारले गरेका पछिल्ला नीतिगत सुधारले निजी क्षेत्र लगानीको वातावरण बन्नेमा विश्वस्त रहेको बताउँदै उनले यसकोे कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन आग्रह गरे। उनले यसबाट नेपालको व्यावसायिक गतिविधिमा सुधार ल्याउने आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने छ भन्ने निजी क्षेत्रले विश्वास लिएको समेत बताए।
पछिल्लो समय सिमेन्ट र फलामको मूल्यवृद्धि र लोडसेडिङ जस्ता समस्याहरूले औद्योगिक तथा व्यवसायिक क्षेत्र समस्यामा देखिएको चर्चा गर्दै उनले यसको तत्काल समाधान खोज्न पनि सरकारलाई आग्रह गरे।

                                             
                                             
                                             
                                             
                                             
                                             

