नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

हिमाल प्रेस १४ चैत २०८१ १५:०० | Thursday, March 27, 2025
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन्।

महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए।

उनले यही चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गरे।

‘वषौँसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ। गाली नगर्नुपर्नेलाई गाली गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलनका नाममा के के हुँदैछ भनेर आतंक सृजना गर्न खोजिएको छ। चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने भनिएको जुलुस र सभा हुन्छ। सकिन्छ। हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन।’

प्रधानमन्त्री ओलीले औपनिवेसिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा संघर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको बताए।

उनले पञ्चायती शासनकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठूला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गरे।

चैत १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ।

प्रकाशित: १४ चैत २०८१ १५:०० | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast