प्रधानमन्त्री केपी शर्मा ओली
                                            काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजिए युवा संघ बाघले झम्टिए झैँ झम्ट्ने चेतावनी दिएका छन्।
राष्ट्रिय युवा संघ नेपालले बुधबार आयोजना गरेको राष्ट्रिय स्वयंसेवकको भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
उनले युवासँग कति तागत छ भन्ने कुरा मानिसहरूले आँकलन नै नगरेको भए देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाबिला गरेर पनि सकक्षमता देखाउनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको जिकिर गरे।
‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छन्। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ उनले भने,‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यो शक्तिलाई व्यवस्थित र मर्यादितरूपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्सजस्तै। यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकासविरोधीले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गरेको विरोधमा माओवादी केन्द्रलगायतले गरिरहेको विरोधतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गरे। उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने प्रस्ट पारे।
‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति ग¥यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ ओलीले भने।
उनले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन गर्न विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरूले सदन अवरोध गरेको आरोप लगाए।
विपक्षी दलहरूलाई प्रधानमन्त्री ओलीले भने,‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस्, तपाईँहरू। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिन्छौँ, न आत्तिन्छौँ। धैर्यपूर्वक अगाडि बढ्छौँ।’

                                             
                                             
                                             
                                             
                                             
                                             

