तल्लो तहदेखि नै पोखरामा अन्तर्राष्ट्रियस्तरको शिक्षा, एभरग्रिन एकेडेमीमा ५० करोड लगानी

हिमाल प्रेस १३ चैत २०८१ २०:४६ | Wednesday, March 26, 2025
तल्लो तहदेखि नै पोखरामा अन्तर्राष्ट्रियस्तरको शिक्षा, एभरग्रिन एकेडेमीमा ५० करोड लगानी

पोखरा– विद्यालय शिक्षामा तल्लोदेखि नै अन्तर्राष्ट्रियस्तरमा पठनपाठन सञ्चालन गर्ने उद्देश्ले नयाँ शैक्षिक संस्था सञ्चालनमा आएको छ।

प्रतिभा एजुकेशन फाउण्डेशनले पोखरा–३, तेर्सापट्टीमा एभरग्रिन एकेडेमी नाममा नयाँ शैक्षिक संस्था सञ्चालनमा ल्याएको हो। ‘स्टिम वेस’ मा आधारित रही पठनपाठन हुने एभरग्रिनलाई सुविधासम्पन्न बनाइएको छ। जसको जग्गा तथा पूर्वाधार निर्माणमा मात्रै ५० करोड रुपैयाँ खर्च गरिसकिएको छ।

बुधबार एकेडेमी परिसरमा पत्रकार सम्मेलनमा एकेडेमी निर्देशक किरण सापकोटाले विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन प्रतिभा एजुकेशन फाउण्डेशनअन्तर्गत छुट्टै शैक्षिक संस्थाको रुपमा यसलाई सञ्चालन गरिएको जानकारी दिए।

उनले भने, ‘विद्यार्थीको अन्तरनिहित प्रतिभा चिनेर पेसागत मात्र नभई असल, योग्य र जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ एकेडेमी सञ्चालनमा ल्याएका हौँ।’

विभिन्न सेवासुविधा उपलब्ध हुने भएकाले पोखरामा निजी विद्यालयले लिने शिक्षण शुल्कभन्दा केहीमात्र बढी हुने उनले बताए।

आगामी शैक्षिक सत्रका लागि कक्षा नर्सरीदेखि ५ सम्म भर्ना सुरु गरिसकिएको बताउँदै उनले प्रत्येक कक्षामा अधिकतम् २४ जनाभन्दा बढी विद्यार्थी नराखिने जानकारी दिए।

प्रतिभा माविको सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन फाउण्डेशनले विद्यार्थीको आवश्यकता र क्षमताअनुसारको पाठ्यक्रम बनाएर प्रयोग गर्ने, विद्यार्थीको व्यक्तिगत आवश्यकतामा ध्यान दिई उनीहरुको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना पनि बनाउने, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्राथमिकता दिने फाउण्डेशन अध्यक्ष नारायण पौडेलले जानकारी दिए।

उनका अनुसार एभरग्रिन एकेडेमीमा नवीनतम् प्रविधिको प्रयोग गरिने छ। विद्यार्थीले स्मार्ट क्लास रुम, विभिन्न डिजिटल उपकरण र इन्फर्मेशन टेक्नोलोजीका माध्यमबाट सिकाइ अनुभव गर्न सक्ने छन्।

विद्यार्थीमा टीमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइको पनि प्रयोग गरिनेछ। लिफ्ट सुविधा रहेको एकेडेमीमा विद्यार्थीका निम्ति ल्याब, योगा, ध्यान, म्यूजिक, डान्स, आर्टस्का कक्षाहरु सञ्चालित हुने छन्।

साढे ५ रोपनी क्षेत्रफलमा साढे ५ तलाको भवन निर्माणलगायत विभिन्न भौतिक संरचना बनाइएको छ। थप निर्माण कार्य जारी रहेकाले लागत अझ बढ्ने निर्देशक सापकोटा बताउँछन्।

प्रकाशित: १३ चैत २०८१ २०:४६ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast