ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको चुनौती : राजतन्त्रबारे बहस गर्न इतिहास पढेर आउनुस्

हिमाल प्रेस ३ चैत २०८१ १२:३८ | Sunday, March 16, 2025
ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको चुनौती : राजतन्त्रबारे बहस गर्न इतिहास पढेर आउनुस् सांसद रघुजी पन्त। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीलाई राजतन्त्रबारे बहस गर्ने चुनौती दिएका छन्। आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा पन्तले शाहीको विरोधको जवाफमा भने,‘तपाईं यदि मसँग बहस गर्न चाहनुहुन्छ भने इतिहास पढेर आउनुस्।’

पन्तले २०१२ सालमा छापिएको हुलाक टिकटमा नेपालको चुच्चे नक्सा समावेश भएको तर २०१७ सालपछि पञ्चायतको समयमा नक्सा हराएको उल्लेख गर्दै यसको जवाफ मागेका छन्। उनले थपे, ‘गणतन्त्र आएपछि चुच्चे नक्सा पुनः ल्याइयो, तर अब यसलाई कसरी कमजोर राष्ट्रियता बनाइयो भन्ने प्रश्न उठाउँछु।’

उनले राजावादीहरूको पछिल्लो आन्दोलनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर  प्रयोग हुने विषयमा पनि आलोचना गरेका छन्। पन्तले भने, ‘तपाईंहरू जुलुश निकाल्नुहुन्छ,‘राजावादीहरूको’ भनेर। त्यहाँ हेर्नुस्, सबभन्दा तल देश, त्यसभन्दामाथि नरेश र नरेशभन्दामाथि योगी र उत्तर प्रदेश यही हो देशभक्ति?’

पन्तले राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्सा हराएको आरोप पनि लगाए। उनले भने, ‘राजा महेन्द्रको समयमा नेपालमा न केवल चुच्चे नक्सा हरायो, लोकतन्त्र पनि हरायो।’ सम्बोधनको क्रममा पन्तले राजा ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रका काण्डहरूलाई समेत याद गराए र नेपाली जनताको राजतन्त्रप्रति चासो नरहेको दाबी गरे।

उनले भने, ‘सभामुखज्यू,अहिलेको संविधानले राजतन्त्रलाई मान्यता दिएको छैन। यस विषयमा संसदभित्र छलफल गर्न पाइँदैन। राजतन्त्र भनेको विशेषाधिकार हो जबकि गणतन्त्र भनेको संसारको प्रवाह हो।’

प्रकाशित: ३ चैत २०८१ १२:३८ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast