शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई। फाइल तस्बिर। 
                                            काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अझै केही दिन घरमै आराम गर्नुपर्ने भएको छ। उनको घाँटीको शल्यक्रिया गरिएको थियो। हाल उनी घरमै आराम गरिरहेकी छन् भने नियमित फलोअप गरिरहेको उनको सचिवालयले जनाएको छ।
रुघाखोकी, ज्वरो र घाँटीमा समस्या देखिएपछि मन्त्री भट्टराईलाई फागुन पहिलो साता त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको थियो। स्वास्थ्यमा केही सुधार भएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको हो। सचिवालयका अनुसार उनी चिकित्सकको निगरानीमा घरमै आराम गरिरहेकी छन्।
शिक्षामन्त्री भट्टराई बिरामी भएकै कारण प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक-२०८० अघि बढ्न सकेको छैन। समिति सभापति अम्मरबहादुर थापाले मन्त्री भट्टराई बिरामी हुँदा समितिमा विधेयकमाथि छलफल हुन नसकेको बताए। उनले भने, ‘मन्त्रीज्यू बिरामी भएकाले समितिमा छलफल अघि बढ्न सकेको छैन।’
यही विधेयकलाई तत्काल पारित गरी ऐनका रूपमा लागू गर्नुपर्ने माग गर्दै देशभरका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

