काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

हिमाल प्रेस ४ चैत २०८१ २०:४४ | Monday, March 17, 2025
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा. वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन्।

उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो। विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए। उनले विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जंकट प्रोफेसर रहेर काम गरिसकेका छन्।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन्।

राष्ट्रिय अखबारका नियमित स्तम्भरकार डा. वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैँकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुुभव छ। उनले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय संघीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आएका छन्। उपकुलपतिको कार्यकाल चार वर्षको रहने छ।

प्रकाशित: ४ चैत २०८१ २०:४४ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast