औरही घटना : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राख्न आदेश

हिमाल प्रेस १० चैत २०८१ २०:२१ | Sunday, March 23, 2025
औरही घटना : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राख्न आदेश

सिरहा– सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ।

जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आइतबार सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो।

शुक्रबार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट आवश्यक अनुसन्धानको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मलिकको घर भत्काइएको थियो।

गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो। घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ।

घटनामा संवेदनशील नभएको भन्दै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार नै मन्त्रालय तानिसकेको छ। यसैगरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन्।

घटनामा संलग्न बजरंगी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए।

प्रकाशित: १० चैत २०८१ २०:२१ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast