 
                             
                                            काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र इन्डिोनेशियाबीच द्धिपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धको छलफलका क्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले नेपाल र फ्रान्सबीच द्धिपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको समेत समितिलाई जानकारी गराए।
छलफलको क्रममा मन्त्री पाण्डेले भने, ‘नेपाल एयरलाईन्सलाई बलियो बनाउनुको विकल्प छैन। नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउनका लागि हवाईजहाद खरिद नगरी कुनै उपाय नै छैन।’
नेपाल एयरलाइन्स बलियो भएमात्र परिणाम दिन सक्ने उनले बताए। मन्त्री पाण्डेले भने,‘ नेपाल एयरलाइन्स जति बलियो भयो, जति क्षमतावान भयो उति नै यसले परिणाम दिने हो।’
उनले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको उल्लेख समेत गरे।
पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयकहरु मन्त्रीपरिषद्बाट स्वीकृत भई आगामी १४ गते प्रतिनिधि सभामा प्रस्तुत हुने जानकारी दिए।
मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धमा मन्त्रीपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागू गरिएको समेत जानकारी गराए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 