आन्दोलनकारी नेता पक्राउ पर्न थालेपछि नवराज सुवेदीको आरोप : राजालाई पनि पक्राउ गर्न खोजियो

हिमाल प्रेस १६ चैत २०८१ ९:१८ | Saturday, March 29, 2025
आन्दोलनकारी नेता पक्राउ पर्न थालेपछि नवराज सुवेदीको आरोप : राजालाई पनि पक्राउ गर्न खोजियो

काठमाडौँ- ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका छन्।

तीनकुने क्षेत्रमा शुक्रबारको आन्दोलनपछि नजरबन्दमा रहेका सुवेदीले शनिबार विज्ञप्ति जारी गरी शाहलाई नजरबन्द वा पक्राउ गर्ने तयारी भइरहेको समाचार बाहिर आएको भन्दै आपत्ति जनाएका छन्। त्यसो भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रिने चेतावनीसमेत उनले दिएका छन्।

शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकारले नियोजित घुसपैठ गराएको सुवेदीको दाबी छ । त्यसपछि प्रहरी दमनका कारण सभा बिथोलिएको उनको दाबी छ ।

उनले आन्दोलनका कमान्डर दुर्गा प्रसाई लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रमपछि जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवलशमशेर राणा तथा प्रवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाई समेत घरमै नजरबन्दमा राख्ने कार्य भएको भन्दै सुवेदीले विरोध जनाएका छन्।

उनले जनताद्वारा गरिने आन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने र जनचाहना तथा जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्ने दाबी गरेका छन्। आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको उनको भनाइ छ।

प्रकाशित: १६ चैत २०८१ ९:१८ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast