वैदेशिक रोजगारी : म्यानपावरले २६ लाख कामदार पठाउँदा सरकारले ४३ हजार

हिमाल प्रेस १७ चैत २०८१ ११:५४ | Sunday, March 30, 2025
वैदेशिक रोजगारी : म्यानपावरले २६ लाख कामदार पठाउँदा सरकारले ४३ हजार

काठमाडौँ- सरकारले पछिल्लो चार आर्थिक वर्षमा ४३ हजार कामदार वैदेशिक रोजगारीमा पठाएको छ। यस अवधिमा म्यानपावर कम्पनीले २६ लाख युवा वैदेशिक रोजगारीमा पठाएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। सरकारले तीन देशमा कामदार पठाउँदा म्यानपावर कम्पनीले ९७ देशमा कामदार पठाएका छन्।

सरकारका तर्फबाट आव २०७८/७९ मा ४ सय ५१, आव २०७९/८० मा २२ हजार ४ सय ६, आव २०८०/८१ मा ८ हजार ५ सय ४४  र चालु २०८१/८२ को आठ महिनामा ११ हजार ९ सय १  गरी ४३ हजार ३ सय २ युवा वैदेशिक रोजगारीका लागि विदेश पठाइएको छ। सरकारले दक्षिण कोरिया, इजरायल तथा बेलायतमा कामदार पठाउँदै आएको छ। चालु आर्थिक वर्षको आठ महिनामा ६ हजार ८ सय १४ युवा कोरिया गएका छन्। यस अवधिमा इजरायल र बेलायत भने कामदार पठाइएको छैन।

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आवको पछिल्लो ८ महिनासम्म म्यानपावर कम्पनीमार्फत २६ लाख १६ हजार २ सय ४० युवा वैदेशिक रोजगारीमा गएका छन्। आव २०७८/७९ मा ६ लाख ३० हजार ९०,  आव २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७, आव २०८०/८१  मा ७ लाख ४१ हजार ३ सय २ र चालु आवको आठ महिनामा ४ लाख ७३ हजार ५ सय २१ युवा म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ। यस अवधिमा २१ हजार कामदार विभिन्न समस्यामा परेर फर्किएको विभागको तथ्यांक छ।

वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसाल सरकारले कोरिया र इजरायलमा मात्र कामदार पठाउँदै आएको बताउँछन्। युद्धका कारण यस वर्ष इजरायलमा कामदार पठाइएको छैन। भुसालले बेलायतसँग श्रम सम्झौता भए पनि ७० जना मात्र कामदार पठाइएको बताए। ‘इजरायल र कोरियामा संस्थागत (म्यानपावर) मार्फत पठाउन नमिल्ने भएका कारण सरकारले यी देशमा युवालाई पठाउँदै आएको छ।

भुसालले भने, ‘म्यानपावरले संस्थागत १११ देशमा कामदार पठाउँदै आएका छन्। यसैगरी म्यानपावरमार्फत व्यक्तिगत भिसामा १७९ देशमा नेपाली कामदार जाने गरेका छन्। मासिक ९७ देशमा नेपाली श्रमिक गइरहेका छन्।’

सरकारले पछिल्लो समय राम्रो कमाइ हुने जापानसँग नयाँ समझदारी गरी युवा पठाउने तयारी गरेको छ। चालु आर्थिक वर्षदेखि जापान कामदार पठाइने भुसालको भनाइ छ। इजरायल जाने तयारीमा रहेका एक हजारमध्ये ८० जनाको भिसा लागेको छ। कोरियामा मासिक करिब एक हजार कामदार गइरहेको भुसाल बताउँछन्।

आम्दानीका आधारमा बेलायत, जापान, कोरिया र इजरायल आकर्षक रोजगार गन्तव्य मानिन्छन्। सरकारले यी देशसँग रोजगारीका लागि विभिन्न सम्झौता गरेको छ। सरकारी स्तरमा श्रम सम्झौता गरेर पनि जर्मनी र मौरिससमा कामदार पठाउन सकिएको छैन।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले औसत मासिक ७० हजार युवा वैदेशिक रोजगारीमा जाँदा सरकारले बढीमा १ हजार मात्र पठाउने गरेको बताए। देशभित्र रोजगारी सिर्जना हुन सकेको छैन। ‘मासिक ७० हजार युवालाई म्यानपावर व्यवसायीले रोजगारी दिएका छन्। देशको अर्थतन्त्रसँगै रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेका व्यवसायीमाथि सरकारले दमनकारी नीति लिने गरेको छ’, भण्डारीले भने।

नेपाल राष्ट्र बैंकका अनुसार तीन वर्षमा करिब ३२ खर्ब रेमिट्यान्स भित्रिएको छ। जसमा ९६ प्रतिशत वैदेशिक रोजगारीमा कार्यरत कामदारको योगदान रहेको भण्डारीको दाबी छ। रोजगार विज्ञ मीना पौडेल आन्तरिक रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भए पनि प्रभावकारी नहुँदा युवा विदेश जाने क्रम नरोकिएको बताउँछिन्। ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको लोकप्रियता हराउनु र यस कार्यक्रममाथि प्रश्न उठ्दा लक्ष्य हासिल गर्न सकेन। कार्यक्रम पार्टीका कार्यकर्ता पाल्ने थालो मात्र भयो’, उनले भनिन्।

प्रकाशित: १७ चैत २०८१ ११:५४ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast