बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

हिमाल प्रेस १६ फागुन २०८१ १९:२३
8
SHARES
बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

भैरहवा – गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरू गरिएको छ। साइकल सिटीको आयोजनामा सुरू भएको यो यात्रा दोस्रो संस्करण हो।

एक सय १५ जना साइकल चालकसहित भैरहवाको बुद्धचोकबाट सुरू भएको यो यात्रा पहिलो दिन शुक्रबार रोहिणी नदी हुँदै नवलपरासीको रामग्राम, पण्डितपुर, रूपन्देहीको भवानीपुर, जितगढी किल्ला हुदै पुनः भैरहवा आइपुग्ने छ।

दोस्रो दिन शनिबार भैरहवाबाट नै यात्रा सुरू गरी टिकुलीगढ, शुद्धोधन हुँदै कपिलवस्तुको जितपुरबाट जगदीशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, तौलिहवा हुदै लुम्बिनी पुगि समापन हुनेछ।

साइकलयात्रामा विश्व साइकलयात्री पुष्कर शाहसँगै भारत र बेल्जियमका साइकल चालकसँगै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साइकलयात्री सहभागी रहेको भैरहवास्थित साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारूमगरले जानकारी दिए।

यात्रामा भारत देहरादूनका बृद्ध साइक्लिस्ट दम्पतीसमेत सहभागी भएको उनले बताए। सहभागीमध्ये देहरादूनका ७५ वर्षीय कमलजित धिमान र ७२ वर्षीय विष्हु धिमान दम्पती छन्। यसबाहेक यात्रामा आठ वर्षीय क्रिस्टोफर श्रेष्ठ, १२ वर्षीय अस्विनी खरेल पनि सहभागी छन्।

७२ वर्षीय साइकलयात्राी विष्हु धिमानले आफू दोस्रोपटक भैरहवाबाट सुरू हुने यो यात्रामा सहभागी भएको बताए। ‘गत वर्ष आउँदा नेपालमा हाम्रो गजबको स्वागत भयो, नेपाललाई भगवानले नै सुन्दर बनाउनुभएको छ र मलाई लाग्छ कि पर्यटनका लागि साइकल यहाँ उचित साधन हुनसक्छ,’ उनले भने, ‘नेपाल साइकल चालकहरूका लागि सर्वोत्कृष्ट गन्तव्य हो किनकि यहाँ प्रकृतिको विविधता छ।’

गत वर्ष राम्रो अनुभव भएको कारण यस वर्ष देहरादूनका अन्य साइकलयात्रीसँगै सहभागी भएको उनको भनाइ छ। यात्राले बौद्ध सर्किटसँग जोडिएका क्षेत्रमात्र नभए प्रचारमा आउन नसकेका रोहिणी खोला, पाकडी वृक्ष, जितगढी किल्लालगायत अन्य बौद्धकालीन सम्पदाको प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ।

यात्रामा सहभागी विश्व साइकलयात्री पुष्कर शाहले यो साइललयात्राले बौद्धकालीन समयमा रहेका बुद्धका जन्म, मावली ससुरालीलगायत बुद्ध हिँडेको पाइलापछ्याउँदै साइकलयात्री पनि हिँडने बताए।

उनले भने, ‘यसले देश तथा विदेशमा साइकलयात्रामार्फत पनि बुद्धको बाटोमा हिँड्न सकिन्छ भन्ने सन्देश संसारभरि फैलाउन सहयोग गर्नेछ।’

भैरहवाको बुद्धचोकबाट सुरू भएको बुद्ध ज्ञान साइकल यात्रालाई उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ‘फ्ल्याग अफ’ गरि सुरू गरेका थिए।

प्रकाशित: १६ फागुन २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast