
काठमाडौँ- सरकारले २०८२ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गरेको थियो। सोसम्बन्धी सूचना शुक्रबार राजपत्रमा प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ।
राजपत्रमा बिदाको सूचनाअनुसार १३ दिन पर्व बिदा, ३ दिन सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषको लागि, २ दिन महिला कर्मचारीको लागि, १ दिन शिक्षणसंस्था, ४ दिन काठमाडौँ उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सबैलाई सार्वजनिक दिवस, १ दिन अपांगता भएका कर्मचारीलाई, २ दिन सार्वजनिक जन्मजयन्ती, ३ दिन सम्बन्धित धर्मावलम्बीहरूको लागि बिदा दिने निर्णय गरेको छ।
योसँगै ३२ दिन सार्वजनिक बिदा परेको छ। यो वर्ष ५२ दिन शनिबार परेको छ। सार्वजनिक बिदा हुने पर्वमा वैशाख १ गते नयाँ वर्ष, चण्डी र वैशाख पूर्णिमा, साउन २४ गते जनैपूर्णिमा, ३१ गते कृष्णजन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गते अर्थात् फूलपातीदेखि द्वादशीसम्मद बिदा, कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा, कातिक १० गते छटपर्व, मंसिर १८ गते धान्यपूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्रि, फागुन ६ गते गयाल्पो ल्होछार, इदउल फित्र र वकर इद परेको दिन, फागुन १८ गते पहाडी र १९ गते तराईमा फागु पूर्णिमा र चैत १३ गते रामनवमी पर्व परेको छ।
सार्वजनिक पर्व बिदामा साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्व परेको छ। उक्त दिन सो पर्व मनाउनेको लागि मात्र बिदाको व्यवस्था छ। भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा हुनेछ। माघ ९ गते सरस्वती पूजाको दिन शिक्षण संस्था, साउन २५ गते गाईजात्रा, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा र मच्छेन्द्रनाथको भोटो देखाउने दिन उपत्यकामा सार्वजनिक बिदा छ।
दिवस बिदाअन्तर्गत वैशाख १८ गते (मे–१) मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ सहिद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अर्थात् मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसको दिन सार्वजनिक बिदा परेको छ।
नेपाल राजपत्रमा प्रकाशित बिदा