मधेशी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ : प्रचण्ड

हिमाल प्रेस १६ फागुन २०८१ १३:०४
8
SHARES
मधेशी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ : प्रचण्ड सप्तरीको राजविराजमामा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियामा सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

सप्तरी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली मधेशी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन्।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियामा प्रचण्डले यस्तो दाबी गरेका हुन्।

मधेशी जनता नक्कली मधेशी दलको भुलभुलैयाको परेको औँल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेशी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताए।

आफूलाई मधेशवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन प्रचण्डले अपिल गरे। मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले भने, ‘मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहूति दिने एक हजार तीन सय सहिदसहित मधेश मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिनेछ।’

संघीयता, समावेशिताको बढी आवश्यकता मधेशी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेशी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डको भनाइ छ। अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेश प्रदेशको नामकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेशी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेको बताए।

राजनीतिक दलका तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै प्रचण्डले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु रहेको बताए।

प्रकाशित: १६ फागुन २०८१ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast