अग्रज कविका कवितासँगै ‘काठमाडौँ उत्सव’ सुरु

हिमाल प्रेस १६ फागुन २०८१ १२:४२
74
SHARES
अग्रज कविका कवितासँगै ‘काठमाडौँ उत्सव’ सुरु

काठमाडौँ- साहित्य, संस्कृति र कलाको उत्सव ‘काठमाडौ उत्सव’ शुक्रबार आठ जना स्थापित कविहरुका कविता वाचनबाट सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाएसँगै कार्यक्रमको औपचारिक उद्घाटन भएको हो।

दुई दिनसम्म चल्ने उत्सवमा जम्मा १५ सत्र हुनेछन्। संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिएको छ।

आयोजक समूह नै युवा भएको महोत्सवमा युवा पुस्ताको काम, उपस्थिति र सोचलाई प्राथमिकता राखिएको उत्सवका संयोजक बाबु त्रिपाठीले बताए।

नाममै काठमाडौँ जोडिएको उत्सवको पहिलो दिनको पहिलो सत्र काठमाडौँकै संस्कृति विशेष हुँदैछ। सत्रमा ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नेछन्। सत्रको सहजीकरण पत्रकार राजेन्द्र बाँनियाले गर्नेछन्।

त्यस्तै लेखक ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरु’ शीर्षकमा अर्को छलफल हुँदैछ। लोकप्रिय गायिका शान्तिश्री परियारले आफ्नो संर्घर्षदेखि लोभलाग्दो सफलतासम्म यात्रा कवि दीप दर्पणसँग ‘साधना र सफलता’ शीर्षकमा छलफल गर्नेछिन्।

‘ज्ञान विवेक र विज्ञान’ विषयमा हुने अर्को सत्र लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्। विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा भलाकुसारी गर्नेछिन्। अर्को सत्रमा राजेन्द्र सापकोटा, जिस्वन तुलाधर श्रेष्ठ र लक्ष्मण गौतमबीच पर्यटनमा पहल शीर्षकमा छलफल हुँदैछ। सत्र सहजीकरण पत्रकार विराट अनुपमले गर्नेछन्।

प्रकाशित: १६ फागुन २०८१ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast