
काठमाडौँ- एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जारी शिक्षक कर्मचारी आन्दोलनको विषयमा गम्भीर टिप्पणी गरेका छन्। यस आन्दोलनको आयोजना नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले गरेको हो जसमा १५ घटक संस्थाहरू आबद्ध/सम्बद्ध छन्।
आन्दोलनका प्रमुख मागहरूमा अस्थायी, करार, बालविकास, राहत, साविक उमावि, विद्यालय कर्मचारी, स्थायी, पेन्सन बन्चित, शिक्षण सिकाइ अनुदान, प्राविधिकधार, विशेष शिक्षाका शिक्षक कर्मचारीहरूको समस्याहरू समावेश छन्।
अधिकारीले आन्दोलनमा सहभागी भएका कतिपय अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूले ‘हामीलाई माथिबाट सर्कुलर आएको छैन’ भन्दै असन्तुष्टि व्यक्त गरेको र केही संस्थाका नेतृत्वहरूले महासंघको समन्वयको अभाव रहेको बताएको उल्लेख गरे।
उनले यस्तो सोचलाई अस्विकार गर्दै भने, ‘साथीहरू, राज्य निर्मम ढंगले आउने निश्चित छ र माग र मुद्दाहरू पूरा नगरेको खण्डमा यसको असर सबै शिक्षक कर्मचारीहरूमा पर्नेछ।’
अधिकारीले शिक्षक कर्मचारीलाई गम्भीर समीक्षा र आन्दोलनमा सक्रिय भाग लिनको लागि आह्वान गरेका छन्। उनले चेतावनी दिएका छन्,‘यदि यसपटक दबाब र हस्तक्षेप गर्न सकिँदैन भने विद्यालय शिक्षा र विधायनको भविष्य अन्धकारमा पर्न सक्छ। महासंघले आन्दोलनको घोषणा गरिसकेको छ तर आन्दोलनमा सरोकारवाला साथीहरूको उपस्थिति नगन्य मात्रामा देखिएको छ।’
‘यस यक्ष प्रश्नको उत्तर हामी सबैले दिन सक्दछौं। यसमा गम्भीर सोच र सक्रिय सहभागिता आवश्यक छ,’अधिकारीले भने। उनले अस्थायी शिक्षक कर्मचारीलाई पनि आफ्नो संस्थामा छलफल गरेर निर्णय लिन अनुरोध गरे र नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सबै प्रकारका संस्थाहरूसँग समन्वय गर्नुपर्नेमा जोड दिए।
अधिकारीले सबै शिक्षक कर्मचारीलाई जिम्मेवार भएर आन्दोलनमा भाग लिन आह्वान गरे र भने, ‘अन्यथा पछुताउनु सिवाय केही नहुन सक्छ।’