
लुम्बिनी – नीजि क्षेत्रमा एक व्यक्तिको लगानीमा तयार एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार जडान भएका पाँचवटै फ्लड लाइट बालेर परीक्षण गरिएको छ।
रुपन्देहीको तिलोत्तमा–१७ स्थित निर्माणधिन रंगशालाको संघीय संसदअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सदस्यहरुको उपस्थितीमा पाँच वटै फ्लड लाईट बालिएको हो।
फ्लड लाइट जडानसँगै रातिमा क्रिक्रेट खेल्न मिल्नेछ। पाँचवटा फ्लड लाइट सात करोडको लगानीमा जडान गरिएको रंगशालाका निर्देशक विनोद कुँवरले बताए।
नेपालको क्रिकेट मैदानमा फ्लड लाइट जडान नै पहिलोपटक भएकाले यसले क्रिक्रेट खेलाडीलाई खुशीको खबर रहेको उनले बताए। बिहीबार एकैचोटी पाँचवटै बत्तीको परीक्षण गरिएको हो। यो क्रम एक महिनासम्म चल्नेछ।
संघीय संसद प्रतिनिधि सभा शिक्षा, स्वस्थ्य तथा सुचना प्रविधि समितिका सभापति सहितका सांसदहरुले रंगशालाको अवलोकन भ्रमण गरेका हुन्। भ्रमणका क्रममा समितिका सभापति अमर बहादुर थापाले नीजि क्षेत्रबाट क्रिक्रेट रंगशाला बनाएर ऐतिहासिक काम गरेको भन्दै आवश्यक पूर्वाधारमा सरकारले सहयोग गर्ने बताए।
खेल क्षेत्रमा एक जना व्यक्तिले गरेको लगानी अन्य युवाहरुलाई समेत उदाहरण बनेको बताए। समितिका सदस्य देवेन्द्र पौडेल र छविलाल विश्वकर्माले क्रिकेट रंगशाला नेपाली खेलकुदको विकासमा कोशेढुंगा सावित हुने बताए।
तिलोत्तमा १७ को पूर्व दरखसवामा पाँच बिघा क्षेत्रफलमा २९ जेठ ०८० मा मैदानको शिलान्यास भएको थियो। ०८० फागुनमा मैदान खेल्नयोग्य बनाएको थियो। गत वर्षको २८ फागुनमा यसै मैदानमा लिजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो।
रंगशालाका प्रबन्ध निर्देशक विनोद कुँवरले निजी क्षेत्रबाट लगानी भए पनि खेलमैदान सरकारको सम्पत्ति भएको बताए। संघीय संसदीय समितिलाई रंगशालाबारे जानकारी दिदै कुँवरले खेलप्रतिको मयााकै कारण यस क्षेत्रमा लगानी गरेको बताउँदै सरकारले चाहेमा आफू हस्तान्तरण गर्न तयार रहेको बताए।
विदेशमा बसेर त्यहाको विकासको मोडल बुझेर, सिकेर आफनो देशमा अवधारणा उतार्ने कोसिस गरेको बताए। उनले फ्लड लाईट जडान भइसकेको तर प्याराफिट बनाउने काम बाँकी रहेको बताए। साढे दुई वर्षभित्र २५ हजार दर्शक अट्ने प्याराफिट तयार हुने उनले बताए।
संसदीय समितिका सदस्यहरु सहित अवलोकन भ्रमणमा तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरीदेवी चौधरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो।
पीएम कप हुने
नेपाल क्रिकेट संघ (क्यान) आगामी २५ फागुनदेखि प्रधानमन्त्री कप क्रिकेट (पीएम) प्रतियोगिता आयोजनाको तयारी गरिएको छ। क्यानले मोफसलका विभिन्न तीन रंगशालामा पीएम कप गर्दै छ। जसमध्ये एक्स्ट्राटेक ओभलमा पनि समावेश छ।
यसपटक क्यानले एक्स्ट्राटेकसँगै दाङको देउखुरी अन्तर्राष्ट्रिय मैदान र रुपन्देहीकै सिद्धार्थ रंगशालामा प्रतियोगिता गर्दैछ । अहिले एक्साट्रटेक मैदान तयार पार्ने काम भइरहेको छ।