
काठमाडौँ- प्रमुख विद्यार्थी संगठनहरू आपसी विवाद र अन्योलका बीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जुटेका छन्। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियु दुवै समस्यामा छन्। लामो समयदेखि टिके प्रथामा चलिरहेको नेविसंघ अनेक गुटमा जेलिएको छ भने अनेरास्ववियुमा एकले अर्कालाई अस्वीकार गर्ने प्रवृत्ति रहेको विद्यार्थी नेताहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ का लागि स्ववियु तोकेको छ। विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूले निर्वाचन प्रक्रिया सुरु गरिसकेको त्रिवि विद्यार्थी कल्याण शाखाका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए। उनका अनुसार निर्वाचन प्रयोजनका लागि संघ-संगठन दर्ता गर्ने मिति १९ गतेका लागि तोकिएको छ। यसैगरी २१ गते मतदाताको सूची प्रकाशित गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ। सोही कार्यतालिकाअनुसार विद्यार्थी संगठनहरूले क्याम्पसमा स्ववियु लक्ष्य गरेर विभिन्न कार्यक्रम सुरु गरेका छन्।
विद्यार्थी संगठनहरूमाथि शिक्षण गतिविधि प्रभावकारी बनाउन तथा युग सुहाउँदो शिक्षा दिलाउन दबाब दिनुको सट्टा निजी स्वार्थमा केन्द्रित रहेको आरोप लाग्ने गरेको छ। यसैगरी अपारदर्शी र अनियमिततामा पनि मुछिँदा विगत केही वर्षयता स्ववियुको औचित्यमाथि पनि प्रश्न खडा भएको छ। यद्यपि नेपालको लोकतान्त्रिक आन्दोलन र शैक्षिक आन्दोलनले दिएको योगदानचाहिँ अविस्मरणीय छ।
स्ववियु चुनाव भन्नेबित्तिकै प्रमुख दलका विद्यार्थी संगठनको चर्चा हुने गर्छ। यसपटक पनि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी चुनावी मैदानमा देखिने निश्चित छ। रास्वपाबाहेक अन्य दलका पनि विद्यार्थी संगठन छन्। चुनावमा भने ती संगठनको उपस्थिति त्यति प्रभावकारी देखिँदैन।
यसपटकको निर्वाचनमा ठूला संगठन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। मुख्य ठूला दल निकट विद्यार्थी संगठनहरू अनेरास्ववियु र नेविसंघले एक्लाएक्लै भिड्ने सहमति गरेका छन्। यद्यपि यसपटक स्ववियु चुनाव कुनै संगठनका लागि पनि सहज छैन। अधिकांश क्याम्पसमा ताला लागेको छ।
त्रिवि विद्यार्थी कल्याण शाखाका निर्देशक प्राध्यापक अधिकारी स्ववियु निर्वाचनका लागि तयारी भइरहेको बताउँछन्। ‘हामीले सबै तयारी गरेका छौँ। ठूला संगठन निर्वाचनमा होमिइसकेका छन्,’ उनले हिमालप्रेससँग भने, ‘वातावरण सकारात्मक छ।’
त्रिविले देशभरका ६३ आंगिक र ३०० बढी सम्बन्धनप्राप्त क्याम्पसमा एकैपटक निर्वाचन गर्दैछ। दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन यसअघि ५० वटा आंगिक क्याम्पसमा भएको थियो। क्याम्पसभित्रका विद्यार्थी संगठनको खिचातानीका कारण थप १३ क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन। निर्वाचन हुन नसकेका क्याम्पसमा काठमाडौँ उपत्यकाभित्रका विश्वभाषा, नेपाल कमर्स, त्रिचन्द्र र आरआर थिए।
उपत्यकाबाहिर चितवनका वीरेन्द्र नगर र इन्जिनियरिङ क्याम्पस, पोखराका इन्जिनियरिङ र पृथ्वीनारायण, पर्साको ठाकुरराम, महेन्द्रनगरको सिद्धनाथ र डोटीस्थित डोटी क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। सम्बन्धन प्राप्त कति क्याम्पसमा निर्वाचन भयो त्रिविसँग तथ्यांक छैन। ‘सम्बन्धन प्राप्तले रिपोर्ट पठाउन अनिवार्य छैन। त्यसैले तथ्यांक राखिएको छैन’, अधिकारी भन्छन्।
यसपटक पनि काठमाडौँभित्रकै क्याम्पसमा तालाबन्दी छ। त्रिविभित्रै पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन्। एकीकृत समाजवादीनिकट अनेरास्ववियूले पनि त्रिविमा तालाबन्दी थपेको थियो। ‘स्ववियु चुनावको मिति तोकिएपछि तालाबन्दीका कार्यक्रम पनि सुरु हुन्छन्। कतिपय ठाउँमा भइसके,’ एमाले निकट अखिलका एक नेता भन्छन्, ‘यसपटक सबै क्याम्पसमा निर्वाचन हुन्छ भन्न सकिन्न।’ कतिपय ठाउँमा हार्ने सम्भावना देख्दा विद्यार्थी संगठन आन्दोलित हुने गरेका छन्। यसअघि निर्वाचन नहुनुको कारण पनि यही हो।
नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अनेरास्ववियु अध्यक्ष समिक बडालबीच छलफल भई तालमेल नगर्ने सैद्धान्तिक सहमति भएको हो। ‘ठूला संगठन आफैँमा संकटमा छन्। कसरी निर्वाचनमा भिड्लान् हेर्न बाँकी छ’, समाजवादी निकट एक विद्यार्थी भन्छन्।
नेविसंघलाई आफ्नैको हैरानी
नेविसंघ लामो समयदेखि तदर्थ समितिमा निर्भर छ। नेतृत्वकै तिक्तताका कारण नेविसंघमा गुटउपगुट छन्। पार्टी सभापति निकट मानिने दुजाङ शेर्पाले नेतृत्व गरिरहँदा पार्टी महामन्त्री गगन थापा र नेता शेखर कोइराला निकटस्थ विद्यार्थी बीच खिचातानी छ। कोइराला पक्षबाट प्रेमिका राना मगरको नेतृत्वमा समानान्तर गतिविधि भइरहेको नेविसंघका नेताहरू बताउँछन्।
यी दुवै गुटले स्ववियुमा आफ्नो हिस्सा माग्ने सम्भावना छ। हिस्सा नपाए विद्रोह गर्ने पक्षमा छन्। ‘हामी जित्ने-नजित्ने भन्दा पनि लोकतान्त्रिक विधिलाई पहिलो प्राथमिकता ठानेर चुनावमा होमिन्छौँ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवाल भन्छन्।
उनी सबै समूहलाई मिलाएर लैजाने तयारी भएको दाबी गर्छन्। स्ववियुका लागि पार्टीले समेत निर्देशन दिएकाले सबै समूह मिलेर जाने उनको भनाइ छ। स्ववियुकै कारण नेविसंघको महाधिवेशन पछाडि धकेलिने निश्चित छ।
लामो समय तदर्थमा रहेको नेतृत्व परिवर्तनका लागि पार्टीले निर्देशन दिएको थियो। नेविसंघले स्ववियु देखाउँदै महाधिवेशन जेठमा गर्ने तयारी गरेको छ। नेविसंघका अध्यक्ष शेर्पा स्ववियुमा गठबन्धन गर्ने तयारीमा रहेको इतर समूहको दाबी छ। शेर्पा गठबन्धनमा गए आफूहरूले विद्रोह गर्ने तयारीमा शेखरपक्षीय नेताहरू छन्। गगन पक्षधर नेताहरू पनि सभापति निकट नेतालाई हिस्सालाई लिने लडाइँ कायम छ।
‘अन्तर्घात’को त्रासमा अखिल
स्ववियु निर्वाचनमा होमिन एमाले निकट अनेरास्ववियु अहिले कार्यक्रममा लागेको छ। अघिल्लो पटक महाधिवेशनबाट तत्काल स्ववियुमा होमिएको अखिल यसपटक महाधिवेशन सारेर स्ववियुमा लागेको छ। आगामी महाधिवेशनको संघारमा हुने स्ववियु निर्वाचनमा ‘अन्तर्घात’को त्रास छ। अखिलभित्रका दोस्रो स्तरका नेताहरू अध्यक्ष बन्ने लडाइँमा लागेका छन्। केही विद्यार्थी नेताबीच भाबी अध्यक्ष पदलाई लिएर सम्बन्ध बिग्रिन थालेको छ।
आन्तरिक तनाव कम होस् भनेर अखिलले महाधिवेशन धकेलेको हो। फागुनमा हुने महाधिवेशन जेठमा सारिएको छ। केही असन्तुष्टि देखिने सम्भावना उस्तै छ। ‘आन्तरिक प्रतिस्पर्धा आफ्ना ठाउँमा छ तर स्ववियुमा एक भएर जान्छौँ,’ अखिलका सचिव एवं प्रवक्ता प्रकाश पौडेल भन्छन्, ‘सिंगल-सिंगल भिड्छौँ तर जित हाम्रै हुन्छ। हामीबीच समस्या छैनन्।’
पौडेल आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भए पनि नतिजामा असर नदेखिने सुनाउँछन्। ‘अहिले एजेन्डा-सुझावपत्र लेखन सुरु भएको छ। विश्वविद्यालय कमिटीका पदाधिकारीसँग छलफल चलिरहेको छ। हामी स्ववियुकै कार्यक्रममा खटिएका छौँ’, पौडेलले भने।
साविकको स्ववियु निर्वाचनमा १३३ स्थानमा जितेको अखिलले अब सर्वाधिक जित्ने लक्ष्य लिएको पौडेलले बताए। ‘विगतमा पनि अखिलले जित्ने ठाउँमा तालाबन्दी गरियो। यसपटक सबैमा निर्वाचन हुँदा स्वाभाविक बढ्छ’, पौडेल भन्छन्, ‘तालाबन्दी भएका कलेजमा पनि हटाएर अघि बढ्नेछौँ। यसका लागि क्याम्पस प्रशासनसँग समन्वय गरिरहेका छौँ।’
क्रान्तिकारीलाई गुटकै त्रास, गठबन्धनको आश
नेकपा माओवादी निकट अखिल क्रान्तिकारी पनि स्ववियुमा होमिएको छ। क्रान्तिकारीमा स्ववियुलाई लिएर दोहोरो तनाव देखिएको छ। भर्खरै नेतृत्व चयन गरेको क्रान्तिकारी स्ववियुमा समेत गुटगत छाप देखिने त्रासमा छ। संगठनको नेतृत्व चयन गर्दा ३ गुट प्रस्ट देखिएका थिए।
भर्खरै सकिएको आन्तरिक निर्वाचनको असर स्ववियुमा देखिने हो कि भन्ने बुझाइ छ। नेतृत्व छनोटको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा आमनेसामने भएका थिए। नेतृत्व चयनपछि पनि शर्माले छुट्टै भेला राखेका थिए।
क्रान्तिकारीलाई भने गठबन्धन हुने आस छ। ठूला संगठनसँग नभए एकीकृत समाजवादी निकट अनेरास्ववियूसँग तालमेल गर्ने योजनामा क्रान्तिकारी छ। क्याम्पस क्याम्पसमा लेनदेन मिलाएर निर्वाचनमा जुट्ने तयारी रहेको क्रान्तिकारीका नेताहरू सुनाउँछन्।
‘हामीले नयाँ नेतृत्व चयन गरेका छौँ। चलायमान बनाएर अघि बढ्छौँ,’ क्रान्तिकारीका महासचिव रोशन थापा मगर भन्छन्, ‘अहिले संगठनमा समस्या छैन। बाहिर जे देखिएपछि भित्र मिलेर जान्छौँ।’
उनी समाजवादी मोर्चा निकट संगठनसँग तालमेलको सम्भावना रहेको बताउँछन्। ‘हामीले तालमेल वा सिंगल केन्द्रबाट भनेका छैनौँ। स्थानीयस्तरमा जे हुन्छ त्यसरी नै अघि बढ्छौँ।’ महासचिव थापा अहिले स्ववियुसम्बन्धी कार्यशाला चलाएको बताउँछन्। यसअघि स्ववियुमा विजयी देशभरका क्रान्तिकारी निकट अध्यक्षसँग समेत परामर्श गरेको सुनाउँछन्।