
इटहरी- नेकपा माओवादी केन्द्र तराई-मधेश जागरण अभियानमा केन्द्रित छ। चार दिनअघि कोशीको झापास्थित कचनकवलबाट सुरु भएको अभियानमा बिहीबार सुनसरीका विभिन्न स्थानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा शीर्ष नेताहरू सहभागी भएका छन्।
कुनै बेला पहिचानको बिउ रोपेको आरोप लागे पनि कोशी प्रदेश नामकरणमा हस्ताक्षर गरी विवादमा तानिएको माओवादीले अहिले पहिचान पक्षधरलाई समेट्ने प्रयास गरिरहेको छ। ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण पक्षलाई लिएर आन्दोलनरत स्थानीयवासीका पक्षमा रहेको संकेत प्रचण्डले सार्वजनिक अभिव्यक्तिमा दिइरहेका छन्।
पहिचानको मुद्दा कोशी प्रदेशको पहाडी जिल्लामा छ। किरात, खम्बुवान, लिम्बुवान आन्दोलनको मुद्दा सम्बोधन गर्दै प्रचण्ड तराई केन्द्रित छन्। तराईमा जनमत धेरै भएका कारण त्यसतर्फ माओवादी केन्द्रित रहेको बुझाइ विश्लेषकहरूको छ। यद्यपि माओवादीको यो अभियान संगठन बलियो बनाउन महत्त्वपूर्ण हुनसक्ने नेताहरूले दाबी गरेका छन्।
माओवादीप्रति जनस्तरको साझा प्रश्न छ- कहिले एमाले र कहिले कांग्रेसको बुइ चढेर सत्ता यात्रा गरिरहने? यो प्रश्नको जबाफ दिन र संगठन बलियो बनाएर आगामी २०८४ को निर्वाचनमा बहुमत सिद्ध गर्ने लक्ष्यसहित जागरण अभियानमा हिँडिरहेका माओवादी नेताहरू तराई मधेशका विभिन्न स्थानमा पुगेर जनताको कुरा सुन्ने र समस्या सम्बोधन गर्ने आश्वासन दिलाइरहेका छन्।
माओवादी केन्द्र कोशी प्रदेश कमिटी संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) भन्छन्, ‘तराई मधेशमा भएका समस्यालाई राष्ट्रिय समस्याका रूपमा उजागर गर्नु अभियानको मुख्य ध्येय हो।’ उनले मधेशमा गरिबी, विभेद र उत्पीडित बाहुल्य रहेकाले त्यस क्षेत्रका समस्या सम्बोधन गर्न अभियान केन्द्रित भइरहेको बताए। राज्यलाई जवाफदेही बनाउन पनि अभियानले भूमिका खेल्ने आङ्बोको तर्क छ।
‘अभियान प्रस्ट छ, तराई मधेशमा भएका समस्यालाई राष्ट्रिय समस्याका रूपमा उजागर गर्ने र विभेदमा परेका, गरिबी र पछाडि पारिएको क्षेत्रका समस्याप्रति राज्यलाई जवाफदेही बनाउने हाम्रो अभियान हो,’ उनले भने।
अहिले माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेकाले पनि राज्यप्रति उत्पीडित समुदायको समस्याबारे ध्यान आकृष्ट गर्ने उनले सुनाए। कोशी प्रदेशमा पहिचानको मुद्दामा माओवादीको दोहोरो रूप रहेको आरोपबारे अध्यक्ष प्रचण्डले गल्ती स्वीकार गरिसकेको आङ्बोले बताए। ‘अध्यक्ष कमरेडले कांग्रेस, एमालेसँगको सहकार्यले महत्त्वपूर्ण मुद्दा छाड्यौँ भनिसक्नुभएको छ,’ उनले भने, ‘अब सरकारमा सहकार्य ठिकै भए पनि चुनावमा सहकार्य नगर्ने भन्नुभएको छ। पहिचानको मुद्दा फेरि उठाउनुपर्छ भनेका छौँ।’
माओवादी केन्द्र कोशी प्रदेश कमिटीका उपाध्यक्ष शिव डाँगी अभियानको भित्री कुरा संगठन विस्तार र जनसमर्थन जुटाउनु रहेको बताउँछन्। ‘माओवादीले आफ्नो मौलिक चरित्र अगाडि बढाउन सकेन। यसले गर्दा आफ्नोपन गुम्ने खतरा भयो,’ उनी भन्छन्, ‘त्यसैले कार्यकर्ताको दबाब बढेपछि नेतृत्वकै योजनामा अभियान सञ्चालन भएको हो। अभियानको गुदी कुरा भनेको संगठन विस्तार र जनसमर्थन जुटाउनु हो।’
डाँगीले कार्यकर्ता स्तरबाट पार्टी अध्यक्ष प्रचण्डलाई संगठन विस्तारका निम्ति जोडबल भएकाले अभियान सञ्चालन हुँदा जनतामा उत्साह पैदा भइरहेको बताए। माओवादी सत्तामा जान नपाएको छटपटी त होइन? भन्ने जिज्ञासामा उनले भने, ‘हिजो सत्तामा जाँदा भन्दा आज माओवादीप्रति मानिसले हेर्ने दृष्टिकोण गुणात्मक ढंगले वृद्धि भएको छ।’
प्रचण्ड प्रधानमन्त्री रहँदा समृद्धि र सुशासनको नारा अगाडि सारे पनि केही सीमित मानिसलाई मात्रै फाइदा भएको डाँगीले बताए। ‘सरकारमा हुँदा एक सयमा पाँचजना मानिसलाई लाभको पद पाएर सुखसयल थियो। आज यो अभियानमा लाखौँ कार्यकर्ता उत्साहित भएका छन्। नेतृत्व तहलाई कार्यकर्ताको दबाब छ,’ उनी भन्छन्, ‘अब यो कार्यकालमा सरकारमा सहभागी नहुने भनेर कार्यकर्ताले बारम्बार भनिरहेका छन्। अध्यक्षले पनि प्रधानमन्त्रीका रूपमा सरकारमा सहभागी नहुने प्रतिबद्धता जनाउनुभएको छ।’
कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनलाई माओवादीले सूक्ष्म ढंगबाट नियालिरहेको समेत उनले जनाए। कोशी नामकरणमा हस्ताक्षर गरिएको विषयमा कार्यकर्ताले सचेत गराएको डाँगीले बताए। उनले अभियानका क्रममा कार्यकर्ताले सचेत गराएको जानकारी पनि दिए।
‘माओवादीले कोशी नामकरणमा हस्ताक्षर गरेर गल्ती गरेको हो। यसमा जनताले हामीलाई आरोप होइन, सचेत गराएका हुन्,’ उनले भने, ‘सुरुमा पहिचानका पक्षमा मत राख्ने र पछि विपक्षमा मतदान गर्ने भन्ने भयो। अब सैद्धान्तिक हिसाबले कोशी नामकरण भइसकेकाले हामीले सच्याउने भनेका छौँ।’
नामकरणको विकल्प जनताबाटै माग गर्ने र उक्त नाममा समर्थन जनाउने समेत उनले बताए। पछिल्लो समय ताप्लेजुङको पाथीभरामा भइरहेको केबलकारका विषयलाई लिएर आन्दोलनरत पक्षमा माओवादी रहेको प्रचण्डको संकेतले पनि पहिचान पक्षधरको जनमत माओवादीले बटुलिरहेको नेताहरूको दाबी छ।
यद्यपि त्यस स्थानमा केबलकार बन्नुपर्ने भए पनि जनस्तरको कुरा राज्यले सम्बोधन गर्नुपर्ने नेता डाँगीको तर्क छ। उनले भने, ‘माओवादी विकासप्रेमी पार्टी हो, केबलकार बन्नुपर्छ। तर त्यहाँका जनताको कुरा पहिलो प्राथमिकतामा राख्नुपर्छ।’
संगठन निर्माणका लागि आफ्नै आत्मबलले लागिपरिरहेको माओवादीका लागि अभियानको चुनौती र अवसर दुवै छ। जनताका समस्या, सहिदका सपनामाथि मलम लगाउने र युवामा भएका निरासा बदल्न माओवादीलाई चुनौती भए पनि अहिले सत्ताबाहिर रहेकाले संगठन विस्तार गर्न र सरकारको आलोचना गरी जनमत आफ्नो पक्षमा पार्ने अवसर छ।
विश्लेषक भन्छन्, माओवादीको दोहोरो चरित्र
विश्लेषक प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘माओवादीभित्र दुई धारको राजनीतिक संघर्ष चलिरहेको छ। त्यसलाई चिर्नका निम्ति पनि अभियान चलिरहेको हुन सक्छ।’ माओवादीमा एकथरी पुनः युद्धमा होमिनुपर्ने र अर्कोथरी भने प्रजातान्त्रिक आन्दोलनमा पाएको उपलब्धि संस्थागत गरेर अगाडि बढ्नुपर्ने तर्क गरिरहेको अवस्थामा जनाधार खोज्न अभियान थालिएको हुन सक्ने उनको बुझाइ छ।
‘युद्धमा जानुपर्छ भन्ने धार टुक्रिएर गए तर आन्तरिक संघर्ष गर्न जनाधार खोजिरहेको अवस्था छ। जनाधार तयार गर्ने र शक्ति सञ्चय गर्नका निम्ति अभियान सञ्चालन भइरहेको छ,’ डा. शर्मा भन्छन्, ‘माओवादी एक्लै सुरक्षित भएको निर्वाचन क्षेत्र नरहेका कारण जनाधार बलियो बनाउने चुनौती छ।’
नेता जनार्दन शर्माले प्रचण्डविरूद्ध उम्मेदवारी दिने भएपछि त्यसलाई चिर्न र निर्वाचन क्षेत्र सुरक्षित गर्नका निम्ति उक्त अभियान चलाएको उनको तर्क छ।
दलहरू सत्तामा हुँदा एउटा र सत्ताच्युत भएपछि अर्को कुरा गर्ने चरित्रबाट अछुतो रहन नसकेकोमा उनले असन्तुष्टि जनाए। चारित्रिक हिसाबमा सत्तामा हुँदा र सत्ताच्युत हुँदा राजनीतिक दलमा परिवर्तन आइनसकेको उनको तर्क छ।
‘माओवादी सत्तामा हुँदा र बाहिर हुँदा भिन्नाभिन्नै कुरा गर्ने अग्रस्थानमा छ,’ विश्लेषक शर्माले भने, ‘यस्तो प्रवृत्तिबाट कुनै दल अछुतो छैनन्, तर अग्रस्थानमा माओवादी छ। पहिचानको आन्दोलनमा पनि अहिले अप्ठ्यारो परेपछि यसमा हाम्रो विमति छ भन्ने द्वैष खालको चरित्र देखाउनु माओवादीको स्वभाव हो।’
माओवादी केन्द्र खुम्चिएको जनमत बलियो बनाउने अभियानमा केन्द्रित भइरहेको उनको भनाइ छ। ‘गत निर्वाचनमा पनि गठबन्धन नगरी माओवादी चुनावमा होमिएको भए जनाधार झनै खुम्चिने अवस्था थियो। अब गठबन्धन नगरी चुनावमा जानका लागि पनि हरेक राजनीतिक दलले आफ्नो सुरक्षा र भविष्य खोजेका छन्। त्यसैको उपज हो, माओवादीको यो अभियान’, शर्माले भने।
यस्तो छ प्रचण्डको दैनिकी
माओवादी केन्द्र कोशी प्रदेश कमिटी सचिवालय सदस्य मदन चुडालका अनुसार प्रचण्डको दैनिकी सामान्य छ। उनी दिनभरजसो स्थानीय कार्यकर्ता, किसान, मुस्लिम समुदाय र उत्पीडित वर्गसँग भेटघाटमा हुन्छन्। उनीहरूका समस्या सुन्छन् र गहन भएर जवाफ दिन्छन्।
प्रचण्ड बुधबार बेलुका इटहरी-१८ स्थित दीपनारायण चौधरीको घरमा बास बसे। थारू परिकारको स्वाद लिएका उनी बिहानै सुनसरीको बर्जुताल पुगे। बर्जुपछि प्रचण्डले देवानगन्ज-३ स्थित भीमनन्द शर्माको घरमा भेटघाट गरी हरिनगरमा मुस्लिम सुमदायसँग भेटघाट गरेका छन्। ‘आज नै गढी ६ मा खबरदारी सभा आयोजना गरिनेछ। त्यसपछि भोक्राहा-८ मा मुस्लिम समुदायसँग भेटघाट गर्ने र त्यहाँ रहेका किसान, मजदुरसँग भेटघाट गरी सप्तरी प्रवेश गर्ने कार्यक्रम छ,’ नेता चुडालले भने, ‘जहाँ जे पाक्छ, त्यही खाने र सामान्य गरी दैनिकी बितिरहेको छ।’
सुनसरीमा बर्जुताल अवलोकन, उखुकिसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा, कोशी, भोक्राहा र मधुवनमा भेटघाटलगायतका कार्यक्रममा प्रचण्डसहितका शीर्ष नेताहरू सहभागी हुने चुडालले जानकारी दिए।
सुनसरीमा प्रचण्ड सहभागी कार्यक्रममा के भने?
दक्षिणी भेगका बासिन्दासँग प्रत्यक्ष संवादमा रहेका प्रचण्डले वषौँदेखि यस क्षेत्रका मानिसमाथि राज्यले विभेद गरिरहेको बताए। ‘दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौँदेखि राज्यले विभेद गरिरहेकाले यसविरुद्ध संघर्षको झण्डा उठाउन यो अभियान थालिएको हो,’ प्रचण्डले भने, ‘म जति दक्षिणतिर पुग्छु, उति धेरै विभेद र अभाव पाएको छु। साथै भौतिक पूर्वाधार विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीका तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने विश्वास दिलाउँछु।’
पार्टीले उत्पीडित वर्गका पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताका पक्षमा थालेको काममा अवरोध गर्न सरकार बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र बिचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरू कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अगाडि बढेको उनले जिकिर गरे।
यसैबीच बर्जुतालको संरक्षणका निम्ति मागसमेत राखिएको छ। चिमडी बर्जुताल सीमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलोमध्येको एक बर्जुताललाई भूमाफियाको चंगुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन्।
कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि एक सय ५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफिया लाग्ने गरेकाले यसको संरक्षण र विकासका ध्यान दिन समितिले आग्रह गरेको हो।
भारतको बिहारबाट १० किलोमिटर उत्तरमा रहेको ताललाई पर्यटकीय स्थल बनाउन सके बाह्य पर्यटक भित्र्याउन सकिने र माछापालनबाट ६ करोडभन्दा बढी आर्जन गर्न सकिने सम्भावना रहेको भन्दै प्रचण्डलाई ध्यानाकर्षण गराइएको थियो।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्नका साथै बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने बताए।
देवानगन्जमा भने उनले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको बताए। यसैगरी आफू नेतृत्वकै सरकारले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको भए पनि अहिले पुनः समस्या भइरहेको दोहोर्याए।
‘अघिल्लो सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो धेरै सुनेको छु,’ उनले भने, ‘सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको छ।’
उनले संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे जनताको तागतले रोक्ने जनाए। प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको समेत सुनाए।