विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

हिमाल प्रेस १५ फागुन २०८१ १६:१२
56
SHARES
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

इटहरी- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा आवद्ध पार्टी सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहीबार झडप भएको हो। झडपमा परेर तीन जना घाइते भएका छन्।

घाइते हुनेमा नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास रहेका छन्। घाइते भएका तीनै जना कोइराला पक्षधर मानिन्छन्।

महेन्द्र मोरङका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) का सभापति जसवन्त पौडेलसहितको समूहले आक्रमण गरेको बताइएको छ। स्ववियुको चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको घाइते पूजा विश्वासले बताइन्। उनका अनुसार सुरुमा मुक्का प्रहार गरिएपछि बञ्चरोले आक्रमण गर्न खोजिएको थियो।

स्ववियु सभापति पौडेलले भने विनाजानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको बताए। ‘म पहिले क्याम्पसको नेविसंघ सभापति थिएँ। स्ववियु सभापति भएपछि प्रशान्त यादवलाई कार्यवाहक दिएँ। कामकारबाही राम्ररी नै चलिरहेको छ। एक्कासी नयाँ इकाई समिति गठन गर्न खोजिएपछि विवाद बढेर झडप भएको हो,’ उनले भने।

पौडेल पार्टी सभापति देउवा पक्षधर हुन्।

पौडेलका अनुसार नेविसंघका जिल्ला सभापति पोखरेल क्याम्पसमा नयाँ इकाई समिति बनाउने तयारीका साथ आएका थिए। मोरङ प्रहरीका डीएसपी मदन केसीका अनुसार प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast