
काठमाडौँ- मौद्रिक नीतिको मध्यावधि समीक्षापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सकारात्मक प्रभाव परेको छ। बिहीबार नेप्से सूचकांक ४९.१५ अंकले बढेर २,८१५.०४ बिन्दुमा बन्द भएको हो।
सूचकांकले ६ महिनापछि पहिलो पटक २,८०० बिन्दुको तह पार गरेको छ। यसअघि भदौ १७ गते २,८३०.२ बिन्दुसम्म पुगेको थियो। साथै बिहीबारको कारोबारसँगै नेप्से लगातार आठ दिन बढेको छ।
बिहीबार १८६ कम्पनीका सेयर मूल्य वृद्धि भएका छन्। ५२ कम्पनीका सेयर घटेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सबैभन्दा बढी कारोबार गर्दै ९६४.७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच गरेको छ। नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले ७६४.२३ करोड रुपैयाँ तथा एनआरएन पूर्वाधार तथा विकास कम्पनीले ४६७.९५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ।
बिहीबार सबै कारोबार समूह हरियो रहेका छन्। सबैभन्दा धेरै वृद्धि बैंकिङ उपसूचकमा देखिएको छ। यो उपसूचक ३.३२ प्रतिशतले उकालो लाग्यो। म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङ उपसूचक २.९१ प्रतिशत र जलविद्युत् उपसूचक १.८ प्रतिशतले वृद्धि भएका छन्। दैनिक कारोबार रकम पनि वृद्धि भएर ११.३९ अर्ब रुपैयाँ पुगेको छ।